डा. रुइतलाई भारत सरकारको सम्मान
नेपाली आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मान गर्ने भएको छ ।
भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा डा रुइतलाई त्यहाँको नागरिक सम्मान पद्मश्री दिने घोषणा गरिएको हो ।
भारतले नागरिकलाई दिने सम्मान भारतरत्न, पद्मभूषण र पद्मविभूषणपछिको चौथो दर्जामा पद्मश्री छ ।
आँखामा हुने मोतिबिन्दुको उपचारमा सरल र कम लागतको चिकित्सा पद्दतिको शुरुवात गरेका डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया गरेको भारतको प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी)ले उल्लेख गरेको छ ।
डा. रुइत यही योगदानका लागि १२ वर्षअघि रामेन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
ताप्लेजुङ्को ओलाङचुङगोलामा जन्मिएका ६२ वर्षीय डा रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् ।
यसअघि पोहोर भारतले चेलीबेटी बेचबिखन रोकथामका लागि सक्रिय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई पनि पद्मश्री सम्मान प्रदान गरेको थियो ।