संकटालाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
पोखरामा जारी आहा रारा गोल्डकप फुटलबल प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरी बल (एपीएफ) ले संकटा क्लबलाई १–० ले पराजित गरेको छ ।
खेलको पहिलो हाफको २८ औँ मिनेटमा एपीएफका खेलाडी आदित्य चौधरीले गरेको गोल नै निर्णायक बन्यो । संकटाका खेलाडीले गरेको फलको अवसर छोपेर चौधरीले फ्रि किक मार्फत उक्त गोल गरेका थिए ।
आज भएको खेलको म्यान अफ दी म्याचको उपाधि समेत चौधरीले हात पारेका छन् ।
प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भएपनि दुबै तर्फका खेलाडीले कयौँ पटक गोल गर्ने अवसर भने गुमाएका थिए ।
यो जितसँगै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताबाट बाहिरिएको संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले अवसरको उपयोग गर्न नसक्दा बाहिरिनुपरेको प्रतिक्रिया दिए ।
पोखरा स्थित सहारा क्लबले विगत १५ बर्षदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको १६ औँ संस्करणमा बरिन्धरा क्लब बंगलादेश, भारतको सिक्किम युनाइटेड क्लब सहित नेपालका ‘ए’ डिभिजन क्लब र अन्य फुटबल क्लब गरी १२ टिम प्रतिस्पर्धामा छन् ।
मंगलबारदेखि शुरु भएको प्रतियोगितामा विजयी हुने टिमले रु ७ लाख १ हजार पुरस्कार पाउने छ भने उपविजेतालाई रु ३ लाख ५१ हजार दिइने छ ।
सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर, सर्वाधिक गोलकर्तालाई रु २५ हजार र वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार पुरस्कार दिइनेछ ।
यस्तै, आयोजकले प्रत्येक टिमलाई एक खेल खेलेवापत अतिरिक्त प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउने जनाएको छ ।
प्रिक्वाटर विजेताले २० हजार, पराजितले १० हजार, क्वाटरफाइनल विजेताले ३० हजार, पराजितले २० हजार र सेमिफाइनल खेल्ने टिमले ५० हजार रुपैयाँ पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
-युवराज श्रेष्ठ, पोखरा