बांग्लादेश पनि सार्क सम्मेलनमा सहभागी नहुने
पाकिस्तानमा हुने आगामी सार्क सम्मेलनमा भारतले भाग नलिने घोषणा गरेलगत्तै बांग्लादेशले पनि आफू उक्त सम्मेलनमा सहभागी हुन नसक्ने जनाएको छ ।
बांग्लादेशकी प्रधानमन्त्रीका सञ्चार सल्लाहकार इकबाल शोभन चौधरीले ‘घरेलु परिस्थितिका कारण’ सम्मेलनमा सहभागी नहुने बताएको बीबीसीले जनाएको छ ।
त्यसैगरी भुटानले पछिल्लो समय बढेको आतंकबादले सार्क सम्मेलन सफल हुनेमा आशंका उब्जिएको बताएको र अफागानिस्तानले पनि आफू सम्मेलनमा सहभागी हुन नसक्ने जनाएको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारत सहभागी नहुने जानकारी दिएका थिए ।
उनले सामाजिक सञ्जालमा भनेका थिए, ‘क्षेत्रीय सहयोग र चरमपन्थ एकैसाथ अघि बढ्न सक्दैनन, त्यसैले भारत इस्लामाबाद सम्मेलनमा सहभागी हुने छैन ।’
इस्लामाबादमा आगामी नोभेम्बर ९ र १० तारेखमा सार्क सम्मेलन आयोजना गरिने पूर्वनिर्धारित कार्यक्रम छ ।
भारतले सम्मेलनमा आफू सहभागी नहुने बारे सार्कको वर्तमान अध्यक्ष नेपाललाई जानकारी पठाइसकेको छ ।
दक्षिण एशियाका आठ देश सहभागी हुने सार्क सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ ।
भारत प्रशासित कश्मीरको उडीमा चरमपन्थी आक्रमणमा १८ सैनिक मारिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध तनावपूर्ण बनेको छ ।