पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द
बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताइन् ।
“एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उनले भनिन्, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा बाध्य भएर प्रसूति सेवा पनि बन्द गर्नु परेको छ ।”
स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिलेसम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् ।
स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीयवासी तारा भण्डारी बताउँछिन् ।
स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् ।
२०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्य संस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ ।
पानीको व्यवस्थाका लागि जनप्रतिनिधि, स्थानीयवासी लगायतका सरोकारवालासँग छलफल शुरु गरिएको हेल्थ फाउन्डेशन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिए ।