दशैंअघि नै संविधान संशोधनको प्रस्ताव ल्याइने: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दशैं अघि नै संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने तयारी गरिएको बताएका छन् ।
आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रम दाहालले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । उनले भने, “नेकपा एमालेसँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।”
मधेशी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेश केन्द्रित दलहरुलाई आफूले जानकारी गराएको उनले बताए ।
इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उनको भनाइ थियो ।
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने बताएका प्रधानमन्त्री दाहालले दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको दाबी गरेका थिए ।
टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उनले बताए । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उनले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको बताएका थिए ।
रासस