ब्लगआइतवार, माघ ७, २०७४

ढेंग स्टेशन र रेल सपना

कनकमणि दीक्षित

रेलवे सञ्जाल नै नभएको नेपालमा रेलको गाथा भने लोक–संस्कृतिकै हिस्सा बनिसकेको छ ।

तस्वीरहरु: कनकमणि दीक्षित

नेपालमा रेलवे लाइन नगण्य भए पनि जनमानसमा रेलगाडीले राम्रै छाप पारेको छ । दुइटा सानो रेल सेवा (अमलेखगञ्ज–रक्सौल र जनकपुर–जयनगर) मात्रै बनेको यहाँ रेलको गाथा लोक–संस्कृतिकै हिस्सा बन्यो ।

सिमाना पार गरेर अनेक मुकाम जाने नेपालीलाई औद्योगिक युगको आगो, फलाम, धुवाँ, कोइला र बाफको रेलगाडी–प्रस्तुतिले पूरै रोमाञ्चित बनाइदियो । त्यसैले रेलको नामोनिसान नहुँदा पनि हामी हाम्रा अनेकन् लोकगीतमा रेलको चर्चा पाउँछौं ।

लालबहादुर खातीकोः ‘अरु कालो रेलको धुवाँले....’
मेलवादेवीकोः ‘सवारी मेरो रेलैमा...’

आजसम्म पनि रेलगाडीलाई इङ्गित गर्न गीतहरू स्टिम इन्जिनको ‘छुक् छुक्’ को कुरा गर्छन् जबकि पूरै भारतमा डिजल र बिजुलीका इन्जिनले रेलका डब्बा तात्छन् । कोइलाका इन्जिन त अब संग्रहालयमा मात्र पाइन्छन् ।

नेपालमा रेलको सपना फेरि देख्न थालिएको छ । चलचित्र छक्कापञ्जा मा प्रियंका कार्की, दीपकराज गिरीलगायतका कलाकारहरु “पूर्व पश्चिम रेल !!” भन्दै नाच्छन् । जताततै रेलमार्ग जोड्न नेता–पार्टी तल्लीन छन्— पूर्व–पश्चिम तराई, केरुङ्ग–लुम्बिनी, काठमाडौं–पोखरा, तराईबाट काठमाडौं अनि मेट्रो रेल र मोनो रेल ।

कल्पना र सपनाको एउटा कुरा । तर, विपनामा भने हामीसँग दुइटा रेल लाइन थिए, उही जनकपुर–जयनगर र अमलेखगञ्ज–रक्सौल । चन्द्रशमशेर प्रधानमन्त्री हुँदा कलकत्ताबाट अर्डर गरी ल्याइएका थिए यी दुई रेल, जुन कामको नेगोसिएसनमा मेरा पूर्वज यज्ञमणि आचार्य दीक्षित खटाइएका थिए ।

तीन–चार दशकअघिसम्म पनि नेपालकै एक भागबाट पूर्व–पश्चिम अर्काे भाग जान दक्षिण सीमा छिचोल्नुपथ्र्यो । त्यहाँ छोटी लाइन (मिटर गेज) रेल समातेर यता वा उता गई फेरि नेपाल छिर्नुपर्ने अवस्था थियो ।

भारतमार्फत यस्तो ‘अन्तर नेपाल यात्रा’ सम्भव पारिदिएको थियो, उपनिवेशकालको एक रेल कम्पनी जसले पूर्व सिलगुडीबाट जलपाइगुडीहुँदै नेपाली सिमाना च्याप्दै रक्सौल, बेतिया, सुगौली, गोण्डा, गोरखपुर, नेपालगञ्ज रोड छिचोल्दै आगरासम्म पुग्थ्यो ।

आजसम्म पनि यो रेललाइन कायमै छ, जबकि गएको दशकमै भारतका छोटी लाइनहरु ‘स्ट्यान्डर्ड’ ब्रड गेजमा स्तरोन्नति भइसकेकोमा यो लाइनको पनि भएको छ । छोटी लाइनको अवसानलाई नेपालको इतिहासकै एउटा कालखण्डको पनि अन्त्य मान्नुपर्दछ ।

५–६ वर्षको हुँदो हँु, ट्रकमा भीमफेदी झरेर अमलेखगञ्जमा नेपाली रेल चढेको सम्झन्छु । चारकोसे झाडी पार गर्दै जाने त्यो रेलको यात्रा अनुभव कसैले वर्णन गरेकै हुनुपर्दछ, मेरो यादमा भने त्यो अजङ्गको जंगल दुनियाँको दर्शन थियो ।

हामी आमा, दाइ, बहिनी र म सिसौट (उबेलाको वागमतीपूर्वको रौतहट, अहिले सर्लाही) जाँदै थियौं । रक्सौलमा भारतीय छोटी लाइन समातेर पूर्व लाग्यौं ।

डेढ दुई घण्टापछि ढेंग स्टेशन पुग्यौं । हामीलाई लिन जेठो मामा नवराज पौडेल आउनुभएको थियो । मामासँगै गडी (गोरुगाडा) चढेर उत्तर लाग्यौं र मनुस्मारा नदी तर्दै सिसौट पुग्यौं ।

मामाघर अहिले रहेन, वागमतीको बाढी (सिमाना दक्षिण बनेको तटबन्ध) का कारण भत्कियो । मामाघरका सबै पलायन भइसके, आँपको गाछी, बगैंचा पनि छैनन्, छ त मात्र ‘बडा गुरुज्यू’ (भीमसेन थापापछिका प्रधानमन्त्री रंगनाथ पौडेल) र उनका खलकको सम्झना । 

तर ढेंग स्टेशन भने जस्तो थियो, त्यस्तै छ । ब्रिटिश पालादेखि, आजसम्म । उही पहेंलो भवन, मात्र बाहिर गोरुगाडा हैन टेम्पो कुरेर बस्छन् ।

ढेंग स्टेशन ठीक सीमाना पारि पर्दछ, तर मेरा लागि यो नेपालको र आफ्नो पारिवारिक इतिहासको पाटो हो ।

रेलगाडी भन्नेबित्तिकै धेरै नेपालीको मस्तिष्कमा तरंग आउँछ, मुटुमा गाँठो पर्छ । मलाई पनि त्यस्तै हुन्छ ।

 

 

 

प्रतिकृया दिनुहोस