दस्तावेजशनिवार, माघ ६, २०७४

दिंग्लामा अधिकारीको अवदान

ज्ञानमणि नेपाल

उबेला बिर्ता–वृत्ति पाएका बाहुनहरूले आफ्ना क्षेत्रका जनतालाई धर्मकर्म गराउने, शिक्षा दिने गर्दथे भन्ने कुरा दिंग्लामा पनि प्रमाणित नै भएको हामी पाउँदछौं। 
 
माझकिरातको उपल्लो छेउ अरुण पश्चिमको रमणीय पाटोमा रहेको दिंग्लामा सेन राजाले अठारौं शताब्दीमा दिएका बिर्ताहरूमा गोतामे, लम्साल, अधिकारी, गुरागाईं र पोख्रेल समेत गरी ५–६ वटा देखिएका छन् ।

तिनमा वेदपाठी शिवप्रसाद लम्सालको बिर्ताको वर्णन हिमाल मा पहिल्यै गरिसकिएको छ । यसमा बलभद्र अधिकारी र उनले पाएको बिर्ता सम्बन्धमा अलिकति उल्लेख गरिन्छ । 

काश्यपगोत्री अधिकारीको काश्यप नैधु्रव आवत्सर त्रिप्रवर हुन्छ । उबेला पश्चिमबाट कान्यकुब्जी ब्राह्मण–क्षेत्रीहरू कर्णाली प्रदेशभित्रको सिंजा राज्य (जुम्ला) प्रवेश गरेपछि ब्राह्मणहरूलाई बिर्ता र क्षत्रीलगायतका अरू जातजातिकालाई जागिरको रूपमा जग्गाजमीन दिएर सैनिक पेशामा आफ्ना राज्य क्षेत्रभित्र आश्रय दिइन्थ्यो ।

देशमा धार्मिक–सामाजिक–आर्थिक स्थिति पनि बस्ने, कर्म अनुसार जनवर्गले वृत्ति पनि पाउने, देश गुल्जार पनि हुने हुँदा सिंजा राज्य क्षेत्रमा दिनपरदिन जनताको आवादी बढ्न थाल्यो ।

बाहुनहरू वृत्ति पाए आफ्ना क्षेत्रका जनतालाई धर्मकर्म गराउने, साधारण शिक्षा दिने, साक्षर पार्ने काम गर्दथे । त्यसैका लागि उनले वृत्ति–बिर्ता पाउँदथे । क्षत्री आदि अरू जातिहरू जागिर–जग्गा पाएर राजकाजमा सरकारको सहायता गर्दथे ।

प्रत्येक जनका आफ्ना छुट्टाछुट्टै नाम, थर, गोत्र हुन्छन् । ब्राह्मणका पुराना थर विशेष गरेर पण्डित, भट्ट, स्वामी आदि हुन्थे । पछि बसेको ठाउँको नामबाट– डोटीमा बस्ने डोटेल, पोखरीमा बस्ने पोख्रेल, पौडीमा बस्ने पौडेल, नेपालकान्ला बस्ने नेपाल आदि जस्तै कर्मले– आचार्यको काम गर्ने आचार्य, धर्माधिकार जस्तो राजकाजको कामको अधिकार पाएको अधिकारी, खड्ग लिएर सुरक्षामा खटिएका खड्का, कटवाल, कार्की आदि भए ।

हामीले हिमाल को अघिल्लो अंकमा कार्कीको कैरन पढ्यौं, जसमा मध्यकालमा मध्यपश्चिम नेपालमा कार्की ब्राह्मणको सानो राज्य उदयपुर रहेको र पछि राजा महिपति सेनबाट कुनै महेश कार्की ब्राह्मणले भोजपुर सोर्‍याङमा बिर्ता पाएको कुराको उल्लेख गरियो ।

राजाबाट बिर्ता पाउने ती ब्राह्मण कार्की अहिले किन नभेटिएका भनेर मैले सोध्दा दाङका टेकनाथ गौतमले ‘धेरैतिर कार्की छत्री मात्र भएको देखेर त्यहाँका सबै कार्कीले आफ्नो थर बदलेर कसैले अधिकारी लेखे, कसैले गौतम, हामीले पनि गौतम लेख्न थालेका हौं’ भनेका थिए ।

अहिले अधिकारी वंशावलीमा पनि उदयपुरका कार्की ब्राह्मण नै अधिकारी भएका हौं भनेर लेखिएको छ । बलभद्रलाई महीपति सेनका बाबु शुभसेनले पहिले पनि बिर्ता दिएको देखिन्छ ।

पहिले सिंजा राज्यमा आएर बस्ता अधिकारीको थर भट्ट थियो । त्यहाँ धार्मिक राजकीय अधिकार पाएकाले अधिकारी लेख्न थालेका भनिन्छ ।

राजकाजमा काम गरेका, राजकाजै पनि चलाएकाले सेन राजाका दरबारमा तिनीहरूको पैठ थियो । तिनले सेन राजाबाट धेरै बिर्ता पाएको देखिन्छ ।

‘चौरासी कुश’ मा उल्लिखित महीपति सेनले दिएको, बलभद्र अधिकारीले पाएको दिंग्ला धारापानी बिर्ताको स्याहामोहरको नेपाली उतार यहाँ दिएको छु । दिंग्लाको यस बिर्ता वितलपमा अधिकारीको वंश विस्तार भएको छ ।

यही वंशमा आवाल ब्रह्मचारी षडानन्द अधिकारीको जन्म भयो । बालककालमै मिथिला क्षेत्रमा गएर अध्ययन गरेका षडानन्द अधिकारीले गायत्री साधना पुरश्चरण गरेर सिद्धत्व प्राप्त गरेका थिए ।

त्यसपछि मातृभूमिमा फर्केर उनले दिंग्ला भञ्ज्याङमा सीतारामको र षडेश्वर महादेवको मन्दिर–मूर्ति स्थापना गरी धार्मिकस्थललाई वरबगैंचाले सजाएर वि.सं. १९३२ मा पाठशाला स्थापना समेत गरेका थिए ।

छात्रवृत्ति र देवालयको गुठीका लागि भनेर धार्मिक सज्जनहरूको सहयोगले हजार आठ सय मुरी धान उब्जा हुने खेत पनि गुठी राखियो । पहिले गुरु पण्डित पनि आफ्नै वंशका नान्दकेशर अधिकारी थिए । यस प्रसिद्ध धार्मिक स्थलमा अद्यापि यो पाठशाला चलिराखेकै छ ।

धारापानी बिर्ताको स्याहामोहर
आगे दिंलाका अम्बलमध्ये महिपति सेनले बलभद्र अधिकारीलाई कुसबिर्ता दियाको धारापानी घर्‍याडिको सिवाना गाडयापानी खोल्सादेखि पूर्व मध्यारादेखि पश्चिम गंगाभिरपहरादेखि दखिन गंगा लमसालका साँधदेखि उत्तर–सुभै सेनले दियाको कुस बेलबोट्या खेत गाउ घर्‍याडिको सिवाना कालिखोलादेखि पूर्व देवसर्म लमसालका साँधदेखि पश्चिम तेर्छाबाटादेखि दखिन खकुवाखोला उत्तर एति ४ किलाभित्र पाखो खेत खरक– १

प्रतिकृया दिनुहोस