प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, वर्षेनी सात हजारको मृत्यु
नेपालमा वार्षिक करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।
केन्द्रका निर्देशक डा केदार नरसिंह केसीका अनुसार नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन छन् ।
उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।
नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । ६ सयभन्दा धेरै सम्पर्कमै आएका छैनन् ।
क्षयरोग अधिकांश फोक्सोमा र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ ।
केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै क्षयरोगका विरामीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर छन् ।
नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रले जनाएको छ ।
क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ ।
यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिए ।
सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताए ।
रासस