परीक्षा पास भएका डेढ लाखले पाएनन् ‘स्मार्ट कार्ड’
यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् ।
पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नहुँदा सबैलाई समयमै लाइसेन्स दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादव बताउँछन् । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।
विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो ।
पहिले वाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक/डेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे । १४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र शुरु भएपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो ।
यादवले भने, “सेवा अन्यत्रबाट पनि शुरु भयो तर मेशिन थप नभएकाले समय लागेको हो ।”
परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आउने गरेको यादवको भनाई छ । उनले भने, “कार्ड प्रक्रियामा रहेका झण्डै डेढ लाखमध्ये ४/५ सय जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्नुहुन्छ ।”
परीक्षामा उत्तीर्ण झण्डै ६०० र नवीकरणका लागि झण्डै ३०० गरेर झण्डै ९०० जना सेवाग्राही दैनिक आउने गरेका छन् ।
रासस