नयाँ डिन नियुक्तिको चलखेल हुँदैछः डा केसी
सत्याग्रही डा गोविन्द केसीले त्रिवि पदाधिकारीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवाललाई हटाएर नयाँ डिन नियुक्तिका लागि चलखेल गर्न थालेको आरोप लगाएका छन् ।
आज एक विज्ञप्ति प्रकाशित गर्दै डा केसीले मेडिकल माफियालाई सहयोग पुर्याउन वरिष्ठताका आधारमा नियुक्त हाल कायम रहेका डिनलाई हटाउन त्रिवि पदाधिकारीहरु लागेको बताएका छन् ।
“माफियाहरुको स्वार्थ पुर्ति गर्नका लागि नयाँ डिन वा कार्यवाहक डिन नियुक्त भएको खण्डमा त्यसको तत्काल सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख छ ।
डा केसीद्वारा जारी विज्ञप्ति:
आदरणीय पत्रकार मित्रहरु
स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर संघर्षरत रहँदै आएको विदितै छ । त्यस क्रममा मेडिकल माफियाका मतियारका रुपमा काम गरिरहेका त्रिवि पदाधिकारीहरुको बर्खास्ती, छानविन र उनीहरुमाथि कारवाहीको माग राख्दै आएका छौं ।
यसैबीच पछिल्लो अदालती आदेश तथा सरकारको निर्णयसमेत अनुसार चिकित्साशास्त्र अध्ययन संस्थामा हाल कायम रहेका तथा वरिष्ठताका आधारमा नियुक्त डिनलाई हटाउन हाल तिनै भ्रष्ट त्रिवि पदाधिकारीहरु लागेको कुरा हाम्रो जानकारीमा आएको छ ।
ओपन हाउस काउन्सेलिङमार्फत मेरिटका आधारमा विद्यार्थी छानेर निजी मेडिकल कलेजमा पठाउने काम चलिरहेको बेला भइरहेको यस्तो चलखेल मेडिकल माफियालाई बल पुर्याउने प्रयास स्वरुप भइरहेको प्रस्ट छ ।
साथै अदालतको आदेश, कुलपति समेत रहेका प्रधानमन्त्री नेतृत्वको मन्त्री परिषदको निर्णयसमेत लत्याउँदै माफियाहरुको स्वार्थ पुर्ति गर्नका लागि नयाँ डिन वा कार्यवाहक डिन नियुक्त भएको खण्डमा त्यसको तत्काल सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं । साथै भ्रष्ट त्रिवि पदाधिकारीहरुको यस्तो चलखेल रोक्न उनीहरुलाई बर्खास्त गर्नुको विकल्प नभएको यथार्थ पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७४।१०।६