पञ्चकन्या हाइड्रोपावरको शेयर निष्कासन
इलाममा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ ।
इलामको सन्दकपुरमा रहेको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले शेयर निष्कासन गरेका हुन् ।
प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।
शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको कार्यालयमा आवेदन दिनसक्ने छन् ।
खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने प्रधानले बताए ।
कम्पनीले स्थानीयवासीका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरेको छ ।
प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाका बासिन्दाले छ लाख ६० हजार तथा इलाम नगरपालिकाका बासिन्दाले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । रासस