अनुदानको मलमा सहकारीको चलखेल
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जको डिलर पर्साको चोर्नी–८ स्थित बालाजी कृषि सहकारी संस्था लिमिटेडले अवैध रुपमा सरकारी अनुदानको मल सर्लाही पुर्याएको छ ।
बालाजी सहकारीले कालोबजारी गर्न लागेकोे एक ट्रक (३३० बोरा) सरकारी अनुदानको युरिया मल सर्लाहीको हरिपुर्वाबाट प्रहरीले बरामद गरेको हो ।
कृषि सामाग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगञ्जबाट पर्साका किसानलाई बेच्न भनी लगेको अनुदानको ३ ३० बोरा युरिया मल सहितको ना ४ ख ८८७५ नम्बरको ट्रक सर्लाहीको हरिपुर्वा–४ स्थित पुरानो बजारबाट बरामद भएको हो ।
“सरकारी अनुदानको मल सहकारीले सिधै तोकिएका किसानलाई खुद्रा बेच्नुपर्ने हो । तर यहाँ एकमुष्ट अर्को जिल्लाको सहकारीलाई बेचेको पाईएको छ,” प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने, “कालो बजारी ऐन अन्र्तगत मुद्दा चलाउनका लागि थप अनुसन्धान गरिरहेका छौं ।”
ट्रक चालक लामालाई कालो बजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र बालाजी सहकारीका अध्यक्ष चोर्नीका ६८ वर्षीय शरण कोईरीलाई पनि पक्राउ गरिसकेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज