रिपोर्टशुक्रवार, माघ ५, २०७४

सिमेन्ट, छडमा बढ्दो लगानी

मस्त केसी

भूकम्पपछिको पुनःनिर्माण र संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरताको आशामा सिमेन्ट, छडलगायत निर्माण सामग्रीका उद्योगमा लगानी बढ्दो छ।

नवलपरासीको सर्दीमा निर्माणाधीन होङ्सी शिवम् सिमेन्ट कारखाना । तस्वीर: रासस

आर्थिक वर्ष २०७३/७४ को ७.२ प्रतिशत आर्थिक वृद्धिदर पछिल्लो दुई दशककै सबैभन्दा उच्च थियो । लगानीको वातावरण र ऊर्जा आपूर्तिको अवस्था नबिग्रिने हो भने चालू आवमा पनि आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हुने सरकारको प्रक्षेपण छ । 

भूकम्प र नाकाबन्दी खेपेको एक वर्षपछि नै मुलुकले आत्मसात् गरेको यो सुखद आर्थिक वृद्धिदरले लगानीकर्तामा उत्साह छाएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा राजनीतिक स्थिरताको आशाले ठूला लगानीकर्ता आकर्षित भएको बताउँछन् । “भर्खरै सम्पन्न तीन तहको निर्वाचन र दलहरूले अघि सारेको आर्थिक समृद्धिको नाराले पनि लगानीकर्ता हौसिएका छन्”, उनी भन्छन् ।

परम्परागत निर्माण शैली बदलिएकोले ग्रामीण क्षेत्रमा समेत सिमेन्ट र छडको माग बढेको छ । भूकम्पपछि त बलियो घरका लागि सिमेन्ट र छड अनिवार्य जस्तै भएको छ । त्यसैले पनि थुप्रै उत्पादनमूलक उद्योग सुस्ताएको बेला व्यवसायीहरू सिमेन्ट र छड उद्योगमा लगानी विस्तार गरिरहेका छन् ।

शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटा भूकम्पपछिको पुनःनिर्माण र मुलुकको विकास नीतिले लगानी विस्तारमा भूमिका खेलेको बताउँछन् । देवकोटा भन्छन्, “राजनीतिक स्थिरतासँगै तीव्र विकासको विकल्प छैन, त्यसैले स्वदेशीसँगै विदेशी लगानीकर्ता समेत भित्रिइरहेका छन् ।”

व्यवसायीहरू निर्माण सामग्री उद्योग विस्तारमा २०७२ को विनाशकारी भूकम्पलाई कारक मान्छन् । काठमाडौं स्टिल्स्‌का प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेल भूकम्पपछिको पुनःनिर्माण बढेसँगै छडको बजार पनि ह्वात्तै बढेको बताउँछन् ।

भन्छन्, “बढ्दो मागले नयाँ लगानीकर्ता र पुराना उद्योगीलाई समेत लगानी विस्तारमा ऊर्जा मिलेको छ ।” मुलुकमा हाल वार्षिक करीब ८० लाख टन सिमेन्ट र १३ लाख टन छड खपत भइरहेको छ । यो वर्ष १६ लाख टन छड खपत हुने अनुमान गरिएको पोखरेल बताउँछन् । सिमेन्ट र छडको खपतमा वार्षिक २० प्रतिशत वृद्धि भइरहेको छ । तर, पछिल्लो एक वर्षमा यो वृद्धिदर दुई गुणाले बढेको व्यवसायीको भनाइ छ ।

सिमेन्ट उत्पादक संघका थापा घर निर्माणमा आएको तीव्रताले माग धान्नै नसक्ने अवस्था भएको बताउँछन् । “भूकम्प प्रभावित जिल्लाहरूमा माग अनुरूप आपूर्ति हुनसकेको छैन” उनी भन्छन्, “यसै पनि हिउँदको समयमा सिमेन्टको माग शतप्रतिशतले बढ्छ ।”

८८ वटा सिमेन्ट उद्योगमध्ये कम्तीमा ६० उद्योग सञ्चालनमा छन् । देशभर २२ वटा उद्योगले छड उत्पादन गरिरहेका छन्, नयाँ ६ उद्योग सञ्चालनको तयारीमा छन् । 

घरानियाँ लगानी
बढ्दो माग र दीर्घकालीन सम्भावनाकै कारण पुरानादेखि नयाँ व्यापारिक घरानाले समेत सिमेन्ट र छड उद्योगमा लगानी गर्न थालेका छन् । विदेशी लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीहरू समेत अन्य उद्योगको तुलनामा सिमेन्ट उद्योगमै चासो राख्न थालेका छन् ।

रुपन्देही, मैनाहियास्थित अर्घाखाँची सिमेन्ट उद्योग । तस्वीर: दीपक ज्ञवाली

चीनको होङ्सी सिमेन्ट उद्योगले शिवम् सिमेन्टसँग मिलेर आउँदो फागुनदेखि क्लिंकर उत्पादनको तयारी गरिरहेको छ । नवलपरासीमा रहेको उद्योगमा शिवम्‌काे रु.१३ अर्ब र होङ्सीको रु.२५ अर्ब लगानी छ । उद्योगले प्रतिदिन १२ हजार टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

भारतको रिलायन्स समूह, नाइजेरियाको डंगोटे ग्रुप र चीनको हुवाजिन कम्पनीले क्रमशः रु.४० अर्ब, रु.५५ अर्ब र रु.५० अर्ब लगानीका सिमेन्ट उद्योग खोल्ने अनुमति लिइसकेका छन् । हुवाजिन चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यो कम्पनी क्लिंकरसहितको उद्योग खोल्ने तयारीमा छ ।

वित्तीय क्षेत्रमा पहिचान बनाएका समूह पनि सिमेन्ट उद्योगमा लगानी गर्ने जमर्कोमा छन् । पछिल्लो उदाहरण हो– आईएमई समूह । आईएमईले दाङमा उद्योग स्थापनाको अनुमति पाएको छ । चौधरी ग्रुप, मुरारका अर्गनाइजेसन, विशाल, त्रिवेणी तथा शंकर गु्रपलगायतले सिमेन्ट उद्योगलाई प्राथमिकता दिएका छन् ।

पुराना सिमेन्ट उद्योगहरूको क्षमता विस्तार पनि जारी छ । रूपन्देहीस्थित अर्घाखाँची सिमेन्टले रु.४ अर्ब थप लगानी गर्दैछ । चौधरी ग्रुपले पनि रु.६ अर्ब लगानी थप्दैछ । त्यसबाहेक घोराही, जगदम्बा, सर्वोत्तम, अम्बेलगायतका उद्योगले पनि क्षमता विस्तार गरिरहेका छन् । गोयनका ग्रुपका महाप्रबन्धक उमेश बराल यसबाट सिमेन्ट उद्योग लगानीको राम्रो क्षेत्र रहेको पुष्टि भएको बताउँछन् ।

आत्मनिर्भर उन्मुख
लक्ष्मी स्टिल्स्‌का महाप्रबन्धक कुन्दन जोशीका अनुसार, लगानी र क्षमता वृद्धिको तयारीले मुलुक छडमा आत्मनिर्भर बन्ने बाटोमा छ । “तर, कच्चा पदार्थमा आत्मनिर्भर हुनको लागि भने केही वर्ष लाग्न सक्छ”, जोशी भन्छन् । नेपालमा वार्षिक रु.७५ अर्बभन्दा बढीको छडको कारोबार भइरहेको छ ।

तस्वीरः गोपेन राई

काठमाडौं स्टिल्स्‌का पोखरेल पनि कच्चा पदार्थमा भारत र अन्य मुलुकसँग निर्भर भए पनि मुलुकमा प्रयोग हुने शतप्रतिशत छड नेपाली उत्पादनले नै धानेको बताउँछन् । सरकारी सहयोग, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण भए नेपाली उद्योग चाँडै आत्मनिर्भर हुने उनको बुझाइ छ ।

मुलुकमा हाल खपत भइरहेको करीब ८० लाख टन सिमेन्टको ८५ प्रतिशत स्वदेशी उद्योगहरूबाटै आपूर्ति भइरहेको छ । सिमेन्ट उद्योग संघका अध्यक्ष थापा यसले सिमेन्टमा पनि मुलुक आफ्नै खुट्टामा उभिने अवस्थातर्फ लम्कँदै गरेको बताउँछन् ।

वार्षिक करीब रु.८५ अर्बभन्दा बढीको कारोबार हुने सिमेन्टमा आर्थिक वर्ष २०७३/७४ मा रु.१ अर्ब १४ करोड ८३ लाख बराबरको सिमेन्ट मात्र आयात गरिएको थियो । तर, छडमा जस्तै सिमेन्टमा पनि कच्चा पदार्थ भने भारतबाटै आयात हुन्छ । 

बजारमा काठमाडौं, हामा, लक्ष्मी, अम्बे, जगदम्बा, हिमाल, पञ्चकन्या, अशोक, गोयनका, नारायणी, नेपाल स्टिल, हुलास, भगवती, बागेश्वरी, कमला स्टिल्स्लगायतका छड लोकप्रिय छन् ।

सिमेन्ट हब
सिमेन्ट उद्योगहरू तराईका रूपन्देही र दाङमा बढी केन्द्रित देखिएका छन् । उद्योग विभागका अनुसार रूपन्देहीको भैरहवामा मात्र १२ वटा सिमेन्ट उद्योग छन् । तीमध्ये अर्घाखाँची, जगदम्बा, सिद्धार्थ, रिलायन्स, गोयनका, ब्रिज, सुप्रिम, अम्बुजा, अग्नि, विशाललगायतका सिमेन्ट उत्पादन भइरहेका छन् ।

ती उद्योगबाट दैनिक एक लाख बोराभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको छ, जसले बजारको करीब ४० प्रतिशत हिस्सा ओगटेको छ । यसबाहेक नवलपरासी, उदयपुर, धनुषा, मोरङ, पर्सामा पनि सिमेन्ट उद्योगहरू खुलिरहेका छन् । दाङमा तीन वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने थप दुई उद्योगले उत्पादन थाल्ने तयारी गरिरहेका छन् ।

रूपन्देही र दाङ आसपास सिमेन्टका लागि आवश्यक प्रमुख कच्चा पदार्थ ‘चुनढुंगा’ खानी भएकाले पनि उद्योगहरू केन्द्रित भएको गोयनका सिमेन्टका बराल बताउँछन् । खानीको नजिक हुँदा ढुवानी र उत्पादन खर्च कम हुने बरालको भनाइ छ ।


‘कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्छ’
भूकम्पपछिको पुनःनिर्माण गतिविधि र ठूला पूर्वाधारसहितका परियोजना कार्यान्वयनका क्रममा रहेकाले निर्माण उद्योगहरुका लागि पर्याप्त अवसर सिर्जना भएको छ । अवसर छोप्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरु सिमेन्ट, छडलगायतका उद्योगमा लगानी बढाइरहेका पनि छन् ।

राजनीतिक स्थिरता, उद्योग प्रोत्साहनको नीति र सरकारी संरक्षण पाए यी उद्योगहरुले आन्तरिक अर्थतन्त्रमा मात्र होइन मुलुकलाई आत्मनिर्भर बनाउन समेत भूमिका खेल्नेमा शंका छैन । तर, प्रचुर सम्भावनाका बीच समस्या पनि कम छैनन् ।

भारतबाट कच्चा पदार्थ आयात, चुनढुंगा उत्खनन्का झमेला, ट्रेड यूनियनको आन्दोलन, असहज र महँगो ढुवानीजस्ता थुप्रै कारण उद्योगी पिरलोमा छन् । र, यसको सोझो असर उपभोक्तामा परिरहेको छ ।

सिमेन्ट र छडको बढ्दो बजार, गुणस्तर, अवसर र चुनौतीबारे उद्योगी/व्यवसायीसँग गत साता मात्र हिमाल ले ‘राउण्ड टेबल’ छलफल गरेको थियो । छलफलमा व्यक्त विचारको सारः

सिमेन्ट र छडको मूल्य किन बढिरहेको छ ?
सबै उद्योगहरुले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ । भारतमा कच्चा पदार्थमा भारी मूल्य वृद्धि भएकाले मूल्य बढाउनु परेको हो । डिजलको मूल्य वृद्धिसँगै ढुवानी खर्च पनि बढेको छ ।

शिव प्याकुरेल

महाप्रबन्धक, नेपाल अम्बुजा सिमेन्ट

चुनावपछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको बजार निकै बढेको छ । माग बढेसँगै आपूर्तिमा पनि केही समस्या देखियो । उपभोक्ता अत्तालिएर भण्डारण गर्नतिर लागे । यसले सामानको कृत्रिम अभाव सिर्जना गर्‍यो । योसँगै अन्तर्राष्ट्रिय बजार भाउ बढेकोले पनि मूल्य वृद्धि भएको हो ।

दीपक घिमिरे

महाप्रबन्धक, अरनिको सिमेन्ट

नेपालको छड तथा सिमेन्ट उद्योग शतप्रतिशत भारतीय बजारमा निर्भर छ । त्यसैले भारतमा केही समस्या आउनासाथ यहाँ मूल्य बढाउनुपर्ने बाध्यता छ । कच्चा पदार्थ आयातमा निकै समस्या छ । भारतमा समेत कच्चा पदार्थ र ढुवानी खर्च बढेको छ ।

कुन्दन जोशी

महाप्रबन्धक, लक्ष्मी स्टिल्स् प्रा.लि

भारत सरकारले त्यहाँका उद्योगीहरुलाई खानी उत्खनन्मा अवरोध पुर्‍याइरहेको छ । त्यसैले नेपाली व्यवसायीले चाहेर पनि ‘अग्रिम बुकिङ’ गर्न पाएका छैनन् । त्यसैले मूल्य वृद्धि भएको हो । ढुवानी भाडा वृद्धिले पनि असर गरेको छ ।

केशवराज पोखरेल

प्रमुख कार्यकारी अधिकृत, काठमाडौं स्टिल्स्

भन्सारमा अनेक समस्या छ । नेपाली उद्योगहरुले समयमै कच्चा पदार्थ आयात गर्न पाएका छैनन् । कामदार अभाव र चर्को ज्यालाले पनि मूल्य वृद्धिमा भूमिका खेलेका छन् ।

राजुकुमार थापा

नायव महाप्रबन्धक, हामा आइरन एण्ड स्टिल्स्

अघिल्ला वर्षहरु हेर्ने हो भने, अहिलेकै समयमा मूल्य वृद्धि भइरहेको देखिन्छ । उद्योगहरु अहिले पनि दैनिक ५/६ घण्टा लोडसेडिङ खेपिरहेका छन् । डिजलको मूल्य भर्खरै वृद्धि भएको छ । मूल्य वृद्धि बाध्यता बनेको छ ।

ध्रुव थापा

अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

सिमेन्ट तथा छड उद्योगहरुले भोगिरहेका समस्या चाहिं के–के हुन् ?
दीपक घिमिरेः ढुवानीको समस्या छ । नीतिगत अस्पष्टताहरु छन् । विद्युत् आपूर्ति सहज छैन । कामदारको अभाव छ । भारतबाट कच्चा पदार्थसँगै कामदार समेत ल्याउनुपर्ने बाध्यता छ । सरकारी सहयोग छँदै छैन ।

शिव प्याकुरेलः कच्चा पदार्थमा परनिर्भरताले ठूलो समस्या निम्त्याएको छ । कच्चा पदार्थ आयातमा ठूलो चुनौती छ । सरकारी सहयोग छैन ।

कच्चा पदार्थमा भारतको एकलौटी बजारले समस्यामा पारेको छ । ब्यांकहरुको मनोमानी ब्याजले पनि मर्का थपेको छ । गुनासो सुन्ने निकाय छैन । व्यवस्थित नीति र अनुगमनको अभाव छ ।

उमेश बराल

महाप्रबन्धक, गोयनका ग्रुप

केशवराज पोखरेलः आवश्यक कच्चा पदार्थ नहुँदा माग अनुसार उत्पादन गर्न सकिएको छैन । समयमै बजारमा पुर्‍याउन ढुवानीको समस्या छ । हल्लाकै भरमा उपभोक्ताहरुले अनावश्यक भण्डारण गरेर राख्दा पनि उद्योगीलाई समस्यामा पारेको छ ।

कुन्दन जोशीः ट्रेड यूनियनको अनावश्यक माग र दबाबले हैरान बनाउँछ । सरकार पनि संरक्षणभन्दा समस्याका रुपमा प्रकट हुन्छ ।

ध्रुव थापाः सिमेन्ट उद्योगलाई खानी उत्खनन्मै समस्या छ । सरकारी निकायले बहाना बनाएर समस्या निम्त्याइरहन्छन् । उपयुक्त नीतिको अभावमा उद्योगहरु पीडित छन् । उद्योगलाई अनिश्चिततामा चल्नुपर्ने बाध्यता छ ।

समस्याका कुरा गरियो । तर, नेपाली सिमेन्ट र छड चाहिं कत्तिको गुणस्तरीय छन् ? उपभोक्ताले असल, कमसल कसरी छुट्याउने ?
दीपक घिमिरेः महँगो हुँदा मात्रै गुणस्तरीय हुँदैन । मेरो विचारमा, नेपालमा सबै सिमेन्ट अब्बल छन् । आफ्नो क्षमता र आवश्यकताअनुसार निर्माण सामग्रीको प्रयोग गर्नुपर्दछ । पिल्लर, प्लास्टर वा ढलानमा फरक–फरक सिमेन्टको प्रयोग गर्नुपर्दछ । अहिले ढुङ्गा, माटोका घरको गारोमा पनि बीचबीचमा सिमेन्ट र छडको प्रयोग भइरहेको छ, जुन जरुरी नै छैन ।

केशवराज पोखरेलः आमनागरिकले गुणस्तरीय छुट्याउन निकै गाह्रो छ । त्यसैले प्राविधिकको सल्लाह लिनु उपयुक्त हुन्छ । सकभर अन्डरग्राउण्ड संरचनामा स्तरीय सामग्री प्रयोग गर्नुपर्छ । छड मोटो हुँदैमा बलियो हुन्छ भन्ने धारणा गलत छ । ढलानमा ओपीसी सिमेन्ट र डीपीसीमा प्राइम क्वालिटीको छड प्रयोग गर्नु उचित हुन्छ ।

उमेश बरालः कम्पनीको ख्याति र अन्य व्यक्तिहरुको सुझाव लिनु उपयुक्त हुन्छ । बङ्ग्याउँदा नचर्किने छड बलियो हुन्छ । सिमेन्टको गुणस्तर जाँच्न चारवटा जति ईंटामा सोलिङ गरेर चारदेखि सातदिनसम्म राखेर हेर्न सकिन्छ । बालुवा, पानीलगायतका सामग्रीहरुको सही संयोजन हुँदा सिमेन्ट र छड दुवै टिकाउ हुन्छन् । चिस्यानले छडको गुणस्तरमा असर पुर्‍याउँछ ।

राजुकुमार थापाः गुणस्तरका हिसाबले सबै सिमेन्ट र छड उस्तै छन् । संरचना बनाउँदा इन्जिनियरिङमा बढी ख्याल गर्नुपर्छ । बलियोसँग बाँधिएका छड बलियो संरचनाका आधार हुन् । संरचना बनाउँदा आइरन मिसिएको पानी प्रयोग गर्नुहुँदैन ।

कुन्दन जोशीः गुणस्तर जाँच्न सरकारसँग निश्चित प्रयोगशाला छैन । नेपाल गुणस्तर (एनएस) चिह्न पाउने वित्तिकै सबै सिमेन्ट वा छडले गुणस्तरका सबै मापदण्ड पूरा गरेका छन् भन्ने हुँदैन । उपभोक्ता स्वयं सचेत हुनु जरुरी छ । उपभोक्ता स्वयं प्रयोगशालामा गएर परीक्षण गर्नुपर्र्छ ।

शिव प्याकुरेलः सबै संरचनामा एकै खाले सिमेन्ट उपयुक्त हुँदैन । संरचना र त्यसको बनावट अनुसार सिमेन्ट प्रयोग गर्नुपर्दछ ।

मुलुकलाई सिमेन्ट र छडमा आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?
दीपक घिमिरेः भारतप्रतिको निर्भरता घटाउन खानीलाई सरल र सहज तरिकाले प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ । विद्युत् आपूर्तिको कठिनाइ हटाउनुपर्छ । ब्यांक ऋणको व्यवस्थापन पनि जरुरी छ ।

शिव प्याकुरेलः सर्वप्रथम सरकारले उद्योग प्रोत्साहन नीति ल्याउनुपर्छ । उद्योगमा राजनीतीकरण र भ्रातृ संगठनको अवरोधमा प्रतिबन्ध लगाइनुपर्छ । बन्द वा हडताल गरेर उद्योग क्षेत्रलाई समस्यामा पार्नुहुँदैन । सरकारले सहजीकरण गर्न सके यो क्षेत्रको भविष्य सुरक्षित छ ।

उमेश बरालः सिमेन्ट तथा छडको निश्चित मूल्य तोकिनुपर्छ । सरकारले उद्योगको संरक्षण गर्ने नीति ल्याउनुपर्छ । अनुगमन र नियमनलाई व्यवस्थित गर्नुपर्छ ।

राजुकुमार थापाः उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझेर सरकार सहयोगी हुनुपर्छ । कच्चा पदार्थ आयातको समस्या कूटनीतिक पहलमार्फत हल गर्नुपर्छ । यो क्षेत्रको भविष्य अत्यन्तै राम्रो छ ।

कुन्दन जोशीः स्थिर सरकार र नीतिको आवश्यकता छ । भारतको एकाधिकार बजार अन्त्य जरुरी छ । भन्सारदेखि ढुवानी र बजार व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्छ ।

केशवराज पोखरेलः उद्योगीले पनि कमजोर सरकारको फाइदा उठाउन बन्द गर्नुपर्छ । सरकारमा दायित्वबोधको आवश्यकता छ । धेरै ठाउँमा सरकारी असहयोग र झन्झटिलो प्रक्रियाका कारण अनावश्यक खर्च बढेको छ । उद्योगीहरु उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही हुने हो भने यो क्षेत्र निकै व्यवस्थित रुपमा अगाडि बढ्छ ।

प्रतिकृया दिनुहोस