अति विपन्नका घर–घर पुगेर डा. केसीले बाँडे न्यानो कपडा
अनशन तोडेको एक साता नवित्दै शितलहर पीडितको उपचारका लागि मधेश झरेका डा. गोविन्द केसीले रौतहटका अतिविपन्न र दलित परिवारका घर–घरमा पुगेर न्यानो कपडा बाँडेका छन् ।
चौधौंपटकको अनसन २८ पुसमा टुंग्याएपछि रौतहट आएका डा. केसीले गढीमाई नगरपालिकाको सुन्दरपुर, समनपुर, टोकार, लक्ष्मीपुर, हथिऔल, हरैया र वृन्दावन नगरपालिकाको पल्टुआ लगायतका गाउँमा पुगेर डोम, दुसाद, चमार, मुहसर, सरभंग जातका अत्यन्त विपन्न परिवारलाई कम्बल, ज्याकेट, टोपी, स्वीटर, साडी, ट्राउजर, बिस्कुट, चकलेट बाँडेका छन् ।
यसवर्ष ४ माघसम्म जाडोले २४ जनाको मृत्यु भइसकेको रौतहटमा गत साउनको बाढीले पनिसबैभन्दा बढी जनधनको क्षति पु¥याएको थियो । त्यसैले अतिविपन्नहरुलाई केही सहयोग गर्न आएको डा केसीले बताए ।
बेवास्तामा परेका अतिविपन्न परिवारका एकल महिला, सुत्केरी, अपांग, ज्येष्ठ नागरिकलाई घरैमा पुगी भेटेर न्यानो सामग्री प्रदान गरेका डा. केसीलाई हेर्न/भेट्न मानिसहरु ओइरिएका थिए ।
गढीमाई नगरपालिकामा डा अभिषेक सिंह, डा तोषिमा कार्की सहित पुगेको डा. केसीको टोलीलाई नगर प्रमुख श्याम यादवसहितको टोलीले स्वागत गरेको थियो ।
गम्भीर रोग लागेका कतिपय विरामीलाई डा. केसीले स्वास्थ्य सल्लाह दिनुका साथै उपचारको व्यवस्था मिलाइदिने आवश्वासन समेत दिएका छन् । डा. केसीको टोलीमा डा. अभिषेकराज सिंह र डा. तोसिमा कार्की पनि छन् ।
डा केसीले समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजन पनि गरेका छन् ।शुक्रबारसम्म चल्ने शिविरको पहिलो दिन आज ५० जनाले उपचार सेवा लिएको डा.सिंहले जानकारी दिए ।
शिविरमा हाडजोर्नी तथा नशा रोगका साथै ज्वरो, रुघाखोकी, निमोनिया, दम लगायतको समस्या भएका विरामी बढी भएको उनले बताए ।
सञ्जय मित्र, रौतहट