राप्रपाका सहमहामन्त्री एमालेमा प्रवेश
राप्रपा सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालय खलंगामा आज पत्रकार सम्मेलन आयोजना गरी राप्रपाका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका हुन् ।
राप्रपाले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको जिल्ला नेता सिंहले भने, “राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले मात्रै पनि साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन त्यही भएर हामीले एमालेमा प्रवेश गर्ने निर्णय गरेका हौँ ।”
एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गर्दै उनीहरुको सम्मानजनक व्यवस्थापन गरिने बताए ।
* सच्याइएको