दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको छ ।
झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
घाईतेमध्ये दीपायल सिलगढी नगरपालिका– ४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ ।
यस्तै केआइसिंह– ७ का वृद्ध करी भण्डारी, दीपायल सिलगढी नगरपालिका– १ का नारायण खड्का र पुष्कर द्वारिया पनि घाइते छन् । उनीहरुको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।
अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजारौंको संख्यामा आएको आन्दोलनकारीको भीडमा बढीजसो महिला थिए ।
आक्रोशित आन्दोलनकारीले तीन वटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् । बेलुका स्थिति केही साम्य हुँदै गए पनि तनाव कायमै छ ।
रासस