जनकपुरलाई अस्थाई केन्द्र तोकिएको विरोधमा वीरगञ्ज बन्द
प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै भएको बन्द र प्रदर्शनले वीरगञ्जको जनजीवन ठप्प भएको छ ।
सरकारले हिजो ३ माघमा सातवटै प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको थियो ।
वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि गठित संघर्ष समितिको आह्वानमा यसअघि पनि चरणबद्ध आन्दोनलका कार्यक्रमहरु भइरहेका थिए ।
संघर्ष समितिले एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण यातायात, पसल, बजार सबै ठप्प पारिएको जनाएको छ ।
वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल र रिक्सा भने चलिरहेका छन् ।
प्रदर्शनकारीले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोको विरोधमा समेत नाराबाजी गरेका छन ।
संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर घण्टाघरमा रिले अनशन चलिरहेको जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज