लमजुङका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी
लमजुङका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेका छन् ।
जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी छन् भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ ।
तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत छन् ।
बेँसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धि विकास प्राथमिक विद्यालयमा एकजना मात्र विद्यार्थी अध्ययनरत छन् ।
बेँसीशहर–१० खाँचेकै गणेश प्रावि, मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुणोदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि दुई/दुई जना मात्र विद्यार्थी छन् ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको वीरेन्द्र शान्ति प्रावि र मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा तीन जना विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बाल विकास प्रावि र मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा चार जना विद्यार्थी छन् भने घिम्राङको जनकल्याण प्राविमा पाँच जना, खुदी जिम्दुको देउराली प्राविमा पाँच जना मात्र विद्यार्थी छन् ।
लमजुङका ३४९ विद्यालयमध्ये १५० विद्यालयमा २० जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
शाखा अधिकृत बरालका अनुसार सामुदायिक विद्यालयबाट वर्षेनि चार हजार विद्यार्थी घटिरहेका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने तयारी गरे पनि सफल भएको छैन ।
यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका लमजुङका २० विद्यालय गाभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो । रासस