दाहालको चुनावी खर्च नौ लाख ९४ हजार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गरेका छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदीमार्फत चुनावी खर्च विवरण पेश गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार दाहालसँग पराजित राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले रु नौ लाख ३९ हजार ९४० खर्च भएको विवरण पेश गरेका छन् ।
चितवनका तीन निर्वाचन क्षेत्रमा कूल ९५ जनाले उम्मेदवारी दिएका थिए । हालसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा रु २५ लाखसम्म खर्च गर्न पाउँछन् भने प्रदेशसभा सदस्यका उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउने व्यवस्था छ ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले नेता सुरेन्द्र पाण्डेले रु १३ लाख ५७ हजार ६७३ को खर्च विवरण पेश गरेका छन् । रासस