सुमार्गीलाई उनको कारोबार ‘वैध’ ठहर गर्न कान्तिपुरको चुनौति
कान्तिपुर मिडिया ग्रुपले व्यवसायी अजेयराज सुमार्गीलाई सरकारी निकायले ‘अवैध’ ठहर गरेको उनको कारोबार ‘वैध’ ठहर गर्न चुनौति दिएको छ।
सुमार्गीले मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध आक्षेप लगाएको भन्दै कान्तिपुरले ती आक्षेप पुष्टि गर्न समेत चुनौति दिएको छ ।
आज, २ माघमा कान्तिपुर मिडिया ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा समाचार प्रकाशन गरेकै कारण कहिले ज्यान मार्न खोजेको उजुरी दिने र कहिले कपोलकल्पित आरोपहरू लगाएर चरित्रहत्या गर्न खोज्ने सुमार्गी–प्रवृत्ति सजायको भागिदार हुनैपर्छ ।”
सुमार्गीले देशभित्रबाट अनियमितता–सिर्जित कालो धन विदेश पुर्याउने, त्यसलाई ‘सेल कम्पनी’ मार्फत ‘विदेशी लगानी’ भन्दै ल्याउने र यहाँ ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला चलाइरहेको कान्तिपुरको आरोप छ ।
विदेशबाट भित्र्याउन खोजिएको उनको करिब साढे ३ अर्ब रुपैयाँलाई नेपाल राष्ट्र बैंकले ‘शंकास्पद’ ठहर गर्दै तीन वर्षदेखि दुइटा बैंकहरूमै ‘सिल’ गरिदिएको र त्यसअघि ल्याएको करिब साढे ८ अर्बलाई पनि राष्ट्र बैंकले शंकास्पद मान्दै ती सबै रकमको स्रोत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाएको लगायतका समाचार कान्तिपुरले शृंखलावद्ध प्रकाशित गर्दै आएपछि सुमार्गीले १ माघमा पत्रकार सम्मेलन गरी कान्तिपुरका अध्यक्ष सिरोहियाप्रति आक्रोश व्यक्त गरेका थिए ।
त्यसअघि उनले आफूले सिरोहियाबाट किनेको काठमाडौंको तीनकुनेस्थित जग्गा सिरोहियाले पुरानै दाममा फिर्ता माग्दा आफूले नदिएको र त्यसैको झोंकमा आफूविरुद्ध निरन्तर समाचार प्रकाशित गराएको आरोप लगाएका थिए । उनले आफूलाई असुरक्षा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।
कान्तिपुरले भने कैलाश सिरोहिया र रामेश्वर थापासमेतको नाममा रहेको काठमाडौं, तीनकुनेको जग्गा चार वर्षअघि एउटा वाणिज्य बैंकका सीईओको सहजीकरणमा सुमार्गीलाई बेचिएको र त्यो प्रकरण त्यही सकिएको जनाएको छ । “निज सुमार्गीसँग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको/गरिएको छैन,” विज्ञप्तिमा उल्लेख छ ।
कान्तिपुरले सरकारी निकायहरूले सुमार्गीको अर्बौं रकमलाई ‘अवैध’ ठहर गरेको र त्यसको स्रोत शंकास्पद रहेको अध्ययन प्रतिवेदन बुझाइसकेको सन्दर्भमा निजमाथि कारबाही नहुनु कानुनी राजको ठाडो उल्लंघन भन्दै उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको पनि आरोप लगाएको छ ।
उसले सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याउन माग गरेको छ ।