'अधिनायकवाद कस्तो हुन्छ, मैले भोगेको छु'
“त्यो साँझ दैलोमा दियो बालेपछि आमाले मानापाथीमा धानचामल भरेर घरभित्रै घोप्ट्यउनु भयो, बुवाले गाइवस्तुको दाम्ला काट्दिनुभयो,” २६ वर्षअघि भुटानबाट लखेटिनुपर्दाको क्षण सम्झँदै दीलिप दाहाल भन्छन ।
११ वर्षका थिए दीलिप एक दिन सेनाको टोली स्कुलमै आइपुग्यो । बन्दुक बोकेका सैनिक जवानले केटाकेटीलाई कक्षा कोठाबाट निकाले । नेपाली भाषामा लेखिएका सबै किताव कापी खेल मैदानको बीचमा थुपार्न लगाएर आगो सल्काइदिए ।
हेर्दाहेर्दै आगो दन्कियो, धुवाँको मुस्लो पर पर वस्तीसम्म फैलियो । डरले थरथर काँप्दै बहिनी र भाइको हात समाएर घर फर्किएका दीलिपले अर्को दिन स्कुलको मैदानमा कवाज खेल्दै गरेका बन्दुकधारी देखे ।
भुटानी सेनाले स्कुललाई ब्यारेक बनाएपछि गाउँमा दमन शुरु गर्यो । छोरीहरुलाई सेनाका लागि भात पकाउन, भाँडा माझ्न र छोराहरुलाई पानी ओसार्न र दाउरा चिर्न लगाइयो– बन्दुक तेस्र्याउँदै ।
अत्याचार बढदै गएपछि अलिकति सातु–सामल र लुगाको सानो पोको बोकेर पाँचजनाको दाहाल परिवार उनीहरुजस्तै सयौं परिवारको पछि लाग्यो । कहाँ जान लागेको, कहाँ पुगिने केही थाहा थिएन ।
हिँडदा हिँडदै पिडुला बाउँडिए, पेट बटारियो, ओठ कलेटी परे । सातदिनको यात्रापछि मेची नदी तरेर त्यो समूह नेपालको काँकडभिट्टा आइपुग्योे ।
सन् १९९२ को चिसो हिउँद झापाको कनकाई नदीको पूर्वी बगरमा बित्यो । त्यसपछिका दिनहरु बुवा–आमाले ज्याला मजदुरी गरेर जुटाएकोे एकछाक जाउलोको भरमा वित्न थाले ।
“अघाउन्जी खान पाएको दिन कस्तो होला भन्ने लाग्थ्यो,” दीलिप सम्झन्छन् । चार महिनापछि बेलडाँगी– १ स्थित शरणार्थी शिविरमा पुग्यो दाहाल परिवार ।
सहयोगी संस्थाले उपलब्ध गराएको छाप्रो, खाना र लुगाले केही सहज भयो । सबैभन्दा ठूलो कुरा शिविरमै विद्यालय खोलिएकाले पढ्ने अवसर पनि मिल्यो ।
भर्खरै प्रजातन्त्र आएको नेपाली वातावरण खुल्ला र खुकुलो थियो । अभावका बीच निस्तो अलिनो खाएरै दीलिपले माध्यमिक पढाई पुरा गरे शिविरकै स्कुलबाट । त्यसपछि दमक बजारको एउटा निजी उच्च माविमा पढे ।
“तानाशाही कस्तो हुन्छ मलाई राम्रोसँग थाहा छ,’ उनी भन्छन् ।
नेपाल र भुटानबीच १५ पटक वार्ता भइसके पनि भुटानी सरकार आफ्ना नागरिकलाई कसैगरी फिर्ता नलैजाने अडानमा रह्यो ।
भुटानले फिर्ता नलगेपछि संयुक्त राष्ट्रसंघको पहलमा शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गराइने भयो । २५ मार्च २००९ को बिहान १६ वर्ष ओत लागेको बेलडाँगी १ सेक्टर इ १ को ४० नम्बर छाप्रोबाट निस्किए दीलिप ।
जर्जियाको एटलाण्टामा उनको परिवारका लागि बस्ने घरको चाँजो मिलिसकेको थियो ।
अमेरिका पुगेपछि दिलिपले पसलमा काम गरे, केही रकम बचत गरेर साझेदारीमा पसल खोले । ब्यवसाय बढ्दै गयो ।
अहिले उनको एटलाण्टामा कन्भिनियन्ट स्टोर सहित तिनवटा ब्यवसाय छन् । ९ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
झापा शिविरमा छँदा साईकल किन्न नसकेका उनी अचेल ८५ हजार डलर मूल्यको सेभरलेट कार चढछन् ।
भुटानी संस्कृति र मौलिकता जोगाउन अमेरिकामा पुनर्वास भएका शरणार्थीहरुले ८ वर्षअघि गठन गरेको अर्गनाइजेसन अफ भुट्निज कम्युनिटी इन अमेरिकाका प्रमुख हुन् दीलिप ।
संसारभरबाट आप्रवासीहरुको ओइरो लाग्ने मुलुक अमेरिकामा भुटानीको संख्या एक लाख नाघिसकेको छ ।
अमेरिकी राहदानी बोकेर नेपाल आएका दिलिपले हिमालखवरसँग भने, “अमेरिकामा सुविधा जति नै भए पनि 'लोकतान्त्रिक भुटान' नपुग्दासम्म सन्तोष भने हुनेछैन ।”
गोपाल गडतौला