ब्लगमंगलवार, माघ २, २०७४

प्रदेश–२ को राजधानी सागरनाथ किन नहुने ?

कनकमणि दीक्षित

वागमतीमा नुहाउन काठमाडौंवासी मधेश झर्दा हुन्छ।

जनघनत्व, गरीबी र त्यसमाथि गरीबीको घनत्वले २ नं. प्रान्तको शुभारम्भ चुनौतीपूर्ण बनाइदिएको छ । तर प्रान्तीय तथा स्थानीय सरकारले संवैधानिक सम्भावनाहरूलाई अँगाल्ने हो भने विकास, राहत, समृद्धि सबै सम्भव देखिन्छ ।

निर्वाचित सांसद्हरूले राष्ट्रिय चिन्तन गरुन्, सशक्त नागरिक समाजको निगरानीमा पनि धेरै कुरा हुन सक्दछ ।

आजको ध्यान भने कता प्रान्तीय राजधानी राख्ने भन्नेमा छ । वीरगञ्जमै पर्नुपर्छ भनेर घण्टाघरछेउमा रिले अनशन चलिरहेको छ । जनकपुरको पनि दाबी छँदैछ ।

यस्तोमा एउटा सुझाव, सर्लाहीको सागरनाथको वन फडानी भएको क्षेत्रमा किन राजधानी नराख्ने ? यो उत्तर–दक्षिण पहाडी र मधेशी आवादी क्षेत्रको बीचमा पर्दछ भने पूर्व–पश्चिम राजमार्ग छेउ र प्रान्तको ठीक बीचतिर ।

यहाँ द्वन्द्वकालमा ६००० बिघा जंगल मासेर माओवादीले बस्ती बसाल्यो, राज्यको केही लागेन । सागरनाथ वन परियोजनाका अध्यक्ष रहँदा विनय कुसियैतले अतिक्रमण रोक्न पहल गरेका थिए, संसदीय समिति नै बनेको थियो । तर केही लागेन । अहिले यहाँ विप्लव समूहको हालिमुहाली छ ।

द्रुतमार्ग द्वार, निजगढ । तस्वीरहरुः कनकमणि दीक्षित

सागरनाथको ‘चारकोसे झाडी’ सर्लाहीमा पर्दछ । नयाँ संविधानअन्तर्गत जिल्लाको नाम नै मेटिने हो कि, प्रान्त र स्थानीय सरकारबीच जिल्लालाई प्रयोगविहीन बनाइँदा सर्लाहीकै केही कुरा गर्न मन लाग्यो ।

सागरनाथ वनको आसपास वन फडानीको मलिलो माटोमा राम्रो तीन बाली (नगदेलगायत) उब्जनी छ– उखु, सूर्ती, धनियाँ, दाल, बदाम, इत्यादि । यस कारण बरहथवा बजारको चहलपहल उल्लेख्य छ र काठमाडौंको ठमेलमा जस्तै यहाँको मुख्य बजारमा गाडी निषेध गरेको छ, नगरपालिकाले ।

बरहथवाबाट दक्षिण मधेशी बहुल क्षेत्रमा भने गरीबीको मात्रा बढी देखिन्छ । प्रान्त र स्थानीय सरकारको पहलमा सबैका लागि समृद्धि ल्याउन सामूहिक पहल आवश्यक पर्नेछ । सम्बन्धित सबै लागिपरेपछि यो असम्भव पनि नहोला ।

सर्लाही उत्तर–दक्षिण राजमार्ग ।

जस्तै नजिकको निजगढबाट काठमाडौं जाने ‘द्रुत मार्ग’ ढिलो गतिमा भए पनि बन्दैछ । द्रुत मार्ग तथा निजगढमै प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल यो रौतहट–सर्लाही भेगलाई आर्थिक ऊर्जा दिने गरी बन्नुपर्दछ, बजार वृद्धि र रोजगारी प्रवद्र्धनमार्फत ।

पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ चौडा ‘हाइवे निर्माण हुँदैछ– नयाँ रोडदेखि सिमानामा पर्ने सिमरा–भगवतीपुरसम्म (पारिपट्टि पर्छ भजेरगञ्ज) । दुई वर्षअघि सिमानापारि छोटी लाइन हटाएर बढी लाइन रेलसेवा शुरु भएपछि ढेंग स्टेशनमार्फत ‘सुपरफास्ट’ रेल चढेर भारततिर जताततै पहुँच बढेको छ ।

सर्लाहीको उत्तर–दक्षिण जोड्ने चौडा राजमार्ग निर्माण हुँदैछ, भारत सरकारको ‘तराईरोड प्रोजेक्ट’ द्वारा । यसले हुलाकी मार्ग मात्र नभई उत्तर–दक्षिण जोड्ने बाटो निर्माणको काम पनि गर्दैछ ।

यस हाइवेले सर्लाहीको उत्तर–दक्षिण कनेक्टिभिटीलाई सुधार्नेछ भने दुई भागमा रहेको अवसर र पहुँचको विभेदलाई पनि अन्त्य गरिदेला ।

मनुस्मारा नदीको कञ्चन पानीको नहरको उपयोगबाट सर्लाहीको कृषिमा फलिफाप भएको छ । सिंचाइको विषयमा सर्लाहीका नागरिक अगुवा र बौद्धिकको एउटा ठूलो ‘गेम चेन्जर’ परिकल्पनालाई वास्तविकतामा परिणत गर्नु परेको छ— सुनकोशी–कमला डाइभर्सन ।

सागरनाथ जंगल फडानी द्वार ।

यसको सिंचाइले पूरै २ नं. प्रान्तमा ‘हरित क्रान्ति’ ल्याउने छ । पहाडबाट झर्ने पानी प्रयोग गर्दै मधेशलाई समृद्धि दिलाउने यो आयोजना अब अगाडि बढ्नु पर्‍यो ।

त्यसको लागि सर्लाहीलगायत सबै ८ जिल्लाको नागरिक समाज तात्नुपर्ने हुन्छ । यसमा काठमाडौं तातेन, नयाँदिल्लीको डरका कारण पनि, अब प्रान्त जाग्नुपर्‍यो ।

भारतीय सीमा छेवैको नेपाली गाउँ बलरामा पुख्र्यौली घर भएका पत्रकार चन्द्रकिशोरकै बोलीमा– ‘राज्य पुनःसंरचनाको फाइदा लिन अब २ नं. प्रान्तको नागरिक समाज अग्रसर हुनुपर्दछ । प्रान्त र स्थानीय सरकारबीच रस्साकस्सी गर्नुहुँदैन, बरु मिलेर काठमाडौंको शक्ति तल झार्नुपर्छ ।

एउटा गाउँ वा शहर होइन, प्रगतिको लागि ‘प्रोभिन्सियल एप्रोच’ चाहिन्छ । भूमिहीनको समस्यादेखि सिंचाइ, बाढीको निकास, भ्रष्टाचार, आर्थिक अग्रगमन र रोजगारीसम्ममा प्रान्तीय नागरिक समाज अग्रसर हुने बेला भयो ।’

सर्लाहीको पश्चिमी सिमाना वागमतीको किनारमा पुग्दा देख्यौं– नदीको पानीमा उपत्यकामा जस्तो दुर्गन्ध रहेनछ । शायद उपत्यकाले पठाएको ‘अर्गानिक’ मल पहाडको ‘क्याटर्‍याक्ट’मा लड्दैपड्दै झर्ने वागमती समथरमा आइपुगिसक्दा ‘अक्सिजनेट’ भइसकेको छ, घर वा व्यवसायमा प्रयोग हुन सक्ने गरी । मैले वागमती तटमा आँखा लगाउँदै गर्दा चन्द्रकिशोरले भनेः “अब त काठमाडौंले वागमतीमा नुहाउन पनि मधेश झर्नुपर्छ !”

प्रतिकृया दिनुहोस