बालश्रमलाई प्रश्रय दिंदै शिक्षाका लागि खाद्य कार्यक्रम
बाजुराको बूढीनन्दा नगरपालिका–३ भुलेनाको कालिका निमावि, कक्षा ५ की विद्यार्थी रिता विक गत ९ मंसीरमा तीनघण्टा टाढा कोल्टी बजारबाट लिटो बनाउने २५ किलो पीठो र पाँच लिटर तेल बोकेर फर्कंदै थिइन् ।
विद्यालयले हरेक महीना लिटो बोक्ने पालो लगाएकोले कक्षा छाडेर कोल्टी जाने गरेको उनले बताइन् । अलि पछाडि भेटिएकी रिताकै कक्षाकी ललिता विक पनि कोल्टीबाट उनकै जत्रो भारी बोकेर भुलेना फर्कंदै थिइन् । पालो आएपछि लिटोको भारी बोक्न नगई नहुने उनले बताइन् ।
नेपाल सरकारले दूरदराजका विद्यालयहरूमा विद्यार्थी संख्या बढाउन विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा निःशुल्क पौष्टिक आहार कार्यक्रम चलाएको छ । जिल्लाका विभिन्न वितरण केन्द्रबाट विद्यालयसम्म पौष्टिक आहार बोक्न बालबालिका नै परिचालन गरिएको छ ।
‘शिक्षाका लागि खाद्य कार्यक्रम’ भन्दै खोलिएका वितरण केन्द्रहरू कतिपय विद्यालयबाट एक दिनसम्म टाढा छन् । बाजुराका ७० विद्यालय र १४५ वटा बाल विकास केन्द्रमा पौष्टिक आहार कार्यक्रम लागू गरिएको छ ।
छात्रा भर्ना दर बढाउने, कक्षा छोड्ने दर घटाउने र कक्षामा नियमितताका लागि बालबालिकालाई पोषिलो खाजा खुवाएर सिकाइमा प्रगति गराउने उद्देश्यका साथ लागू गरिएको यो कार्यक्रमले उल्टै बालश्रमलाई प्रश्रय दिएको छ ।
जिल्ला शिक्षा कार्यालय, बाजुराका विद्यालय निरीक्षक धर्मराज जैसी अभिभावकले ल्याउनुपर्नेमा विद्यार्थी परिचालन गरेको पाइएको बताउँछन् । उनी भन्छन्, “यसबारे अब शिक्षकहरूसँग छलफल गर्छौं ।”
बूढीनन्दा नगरपालिका पाण्डुसेनस्थित कैलाश प्राथमिक विद्यालयमा विद्यार्थीले बोकेर ल्याएको पीठोको खाजा नपकाएको तीन साता भयो । विद्यालयमा खाजा पकाउने तेल र पीठो भए पनि दाउरा नहुँदा नपकाएको प्रधानाध्यापक गणेशबहादुर सिंह बताउँछन् । “विद्यार्थीलाई दाउरा ल्याउन अनिवार्य गरे पनि अभिभावकले पठाएनन्” उनी भन्छन्, “दाउरा भए पो खाजा पकाएर खुवाउनु !”
बूढीनन्दा नगरपालिकाका सिद्धेश्वरी प्रावि, हिमाली निमावि, खापर प्रावि र ऋषिदेव प्राविमा पनि विद्यार्थीले घरबाट दाउरा ल्याए मात्र लिटो पाक्ने गरेको बूढीनन्दा नगरपालिका–९ पाण्डुसेनका दाबा गुरुङले बताए ।
उनका अनुसार, खाद्य कार्यक्रम लागू भएका सबै विद्यालय र बाल विकास केन्द्रमा बालबालिकालाई नै दाउरा ल्याउन अह्राइएको छ । ‘शिक्षाका लागि खाद्य कार्यक्रम, बाजुरा’ का संयोजक विजयकुमार ठाकुरले विद्यार्थीले घरबाट दाउरा बोकेर ल्याउने नयाँ कुरा सुनेको बताए ।
प्रकाश सिंह, बाजुरा