मध्यभोटेकोशी जलविद्युत् आयोजना दुई वर्षभित्र सक्न निर्देशन
ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिएका छन् ।
ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।
सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले २९ पुसमा आयोजनाको स्थगलत निरीक्षण गरी व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।
२०१७ को जुनमा निर्माण सक्ने गरी शुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ ।
जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा अधिकरण लगायत कारणबाट काममा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिम रुप पाएको छैन । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये हालसम्म करीब तीन किलोमिटर खनिएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको बताए ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे ।
१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ ।
आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ ।