प्रधानमन्त्रीलाई पत्र बुझाएर माओवादी केन्द्रले सरकार छाड्यो
नेकपा माओवादी केन्द्र औपचारिकरुपमा आजदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरसहितको पत्र बुझाएर सरकार छाडेको जानकारी गराएका हुन् ।
निर्वाचनको सुनिश्चितताका लागि भन्दै विनाविभागीय हैसियतमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए ।
विनाविभागीय मन्त्री पोखरेलले पार्टी अध्यक्षकोतर्फबाट हस्ताक्षरित पत्र बुझाएर आफूहरु औपचारिकरुपमा सरकारबाट बाहिरिएको जानकारी दिए ।
आफूहरु सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैदेखि माओवादी केन्द्र र नेकपा संयुक्त सम्बद्ध मन्त्रीलाई फिर्ता बोलाइ सरकारमा नरहेको जानकारी गराएको पत्रमा उल्लेख छ ।
गत असोज १७ गते नेकपा एमालेसँग वाम गठबन्धनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गरेको, पार्टी एकताको प्रक्रियासमेत शुरु भएको अध्यक्ष दाहालको पत्रमा उल्लेख छ ।
वाम गठबन्धन र एकताको प्रक्रियाले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभारमा बाधा नपुगोस् भनेर आफूहरु सरकारमा बसिरहेको जानकारी दिँदै माओवादी केन्द्रले संघीय संरचनाअनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै सो कार्य सफलतापूर्वक सम्पन्न गराएकामा प्रधानमन्त्री देउवालाई धन्यवादसमेत दिएको छ ।
रासस