ब्लगशुक्रवार, पौष २८, २०७४

अमेरिकामा शरणार्थीको जन्मदिन, जनवरी १

हिमालखबर

राजेश कोइराला

अमेरिकामा शरणार्थी हुनु देश नहुनु मात्र होइन, जन्ममिति फेरिनु समेत हुँदोरहेछ। नियतिसँगै समय र मौसमका फरक हिसाबकिताब राख्न पनि जान्नुपर्ने रहेछ।

ग्लोबल भूट्निज कम्युनिटी कोलोराडो संस्थाद्वारा अरोरामा चलाइएको नागरिकता परीक्षा तयारीको कक्षाका सहभागी । कोलोराडो राज्यमा करीब तीन–चार हजार नेपाली–भाषी भूटानीको बसोबास छ । तस्वीरः सोम बराल/ग्लोबल भूट्निज कम्युनिटी कोलोराडो

डिसेम्बर १२, २०१७ मा अमेरिकाको पेन्सलभेनिया राज्य आइपुगेका भूटानी शरणार्थी ठाकुरप्रसाद खनालको परिवारका पाँचमध्ये चार जनाले जनवरी १ मा जन्मदिन मनाए ।

उनको परिवारजस्तै अमेरिकामा बसाइएका थुप्रै देशका शरणार्थीले जनवरी १ मै जन्मदिन मनाउँछन् । अमेरिकाले सन् १९७५ देखि गत सेप्टेम्बर २०१७ को अन्त्यसम्ममा औपचारिक रूपमै ३३ लाख ९१ हजार २३२ जना शरणार्थी पुनस्र्थापना गराइसकेको छ । गत नोभेम्बरसम्म ९४ हजार ७१९ नेपालीभाषी भूटानी आइसकेका छन् । 

आफ्नो जन्मदिन नै थाहा नहुने शरणार्थीका लागि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग वा अमेरिकी विदेश मन्त्रालयले तोकेको जन्मदिन हो– जनवरी १ । धेरै शरणार्थीलाई आफू कति वर्षको भएँ थाहा हुन्छ तर मूल राष्ट्रमा चलेको साल, वर्ष, तिथिमितिलाई ईस्वी संवत्‌सँग मिलाउने झमेला गर्नुभन्दा सजिलोका लागि जनवरी १ लेख्ने गरिएको हो । यो औपचारिक मिति होइन, तर शरणार्थीका लागि यो सामान्य बनिसकेको छ ।

यसका साक्षी हुन्, मासाचुसेट्सस्थित स्प्रिङ्गफिल्ड बस्दै आएका भूटानी शरणार्थी भुवन गौतम । “जन्मदर्ताको चलन नभएका बेला जन्मेका, भूटानबाट सरकारी कागज ल्याउन नसक्ने जस्ता धेरैले जन्ममितिमा जनवरी १ राखेको देखेको छु” उनी भन्छन्, “नानी कहिले जन्मेको भनेर सोध्दा कसैले हुण्डरी आएको वर्ष, काला हलगोरु किनेको साल आदि भनेको पनि सुनेको छु ।”

जनवरी १ लाई जन्मदिन छान्ने चलन भियतनाम युद्ध (सन् १९५५–७५) पछि शुरू भएको हो । त्योबेला धेरै भियतनामी अमेरिकामा पुनस्र्थापित गरिए । अमेरिकी विदेश मन्त्रालयका अनुसार, बढीमा एक चौथाइ शरणार्थीको जन्मदिन जनवरी १ मा पर्छ ।

मिति लेख्ने तरिका
नयाँ ठाउँमा नयाँ तरिकाले मिति लेख्ने चलनले पनि धेरैलाई अलमल्याइरहन्छ । “भारत र भूटानमा क्रमशः तारिख, महीना र वर्ष राखेर मिति लेखियो । नेपाल आउँदा वर्ष, महीना र गते सिक्नुपर्‍यो” भारतको बनारसमा पढेका र अहिले ओहायोको एक्रनमा बस्ने भूटानी शरणार्थी पण्डित लक्ष्मीप्रसाद निरौला भन्छन्, “अमेरिकामा भने महीना, तारिख र वर्ष लेख्न सिकिंदैछ ।”

पुनस्र्थापनामा ल्याउनुअघि र अमेरिका उतारिएपछि दिइने प्रशिक्षणमा मिति लेख्ने तरिका बताइए पनि धेरैलाई समय, ऋतु, डे–लाइट सेभिङ्ग जस्ता समयसम्बन्धी महत्वपूर्ण जानकारी भने कमै दिइन्छ । “नेपालमा हुने तीनदिने ओरिएन्टेसनमा सडकका नियम, आपत्कालीन अवस्थामा ९११ मा फोन गर्ने, मौसम जस्ता थुप्रै विषय सिकाइयो । तर, यहाँ आएपछि काममै केन्द्रित गराइयो”, पेन्सलभेनियास्थित ह्यारिसवर्गका भूटानी शरणार्थी जेएन दाहाल बताउँछन् ।

समयको हिसाब
साना मुलुक र एकै समय भएका देशबाट अमेरिका आएका शरणार्थीलाई फरक फरक समय–क्षेत्रले त्यहीं पनि नातागोतालाई फोन गर्न औंला भाँच्नु परेको मासाचुसेट्सका गौतम बताउँछन् ।

जस्तो कि, पश्चिम क्यालिफोर्निया राज्यमा भन्दा पूर्वको मासाचुसेट्समा तीन घण्टाअघि घाम उदाउँछ । त्यसैले अमेरिकी महाद्वीपका ४८ राज्यलाई विभिन्न चार समय–क्षेत्रमा बाँडिएको छ– पूर्वीय, मध्य, पहाडी र प्रशान्त समय–क्षेत्र ।

पूर्वी समय क्षेत्रभर एउटै समय हुन्छ । तर मध्य समय क्षेत्रमा एक घण्टा छिटो हुन्छ, पहाडी समय क्षेत्रमा दुई घण्टा छिटो हुन्छ भने प्रशान्त समय क्षेत्रमा तीन घण्टा छिटो हुन्छ । उदाहरणका लागि पूर्वीय समय साँझकाे ६ बज्दा मध्य समयमा ५, पहाडी समयमा ४ र प्रशान्तमा ३ बजेको हुन्छ । पूर्वबाट पश्चिम जाँदा एक घन्टाका दरले घटाउँदै जानुपर्छ । यसरी समयको हिसाब शुरू–शुरूमा सबै देशका शरणार्थीले गर्छन् ।

डे–लाइट सेभिङ्ग
ह्यारिसवर्गका दाहालका भनाइमा; वर्ष, महीना, बार, घन्टा, मिनेट, सेकेन्डको ज्ञान भए पनि अमेरिकामा समयको सिकाइ फरक हुन्छ । त्यसमा पनि समयलाई घटाउने बढाउने डे–लाइट सेभिङ्गको कुरा त धेरैलाई नितान्त नौलो लाग्छ ।

अमेरिकीहरू वर्षको दुईपटक घडीमा समय मिलाउँछन् । मार्चको दोस्रो आइतबार राति २ बजे घडी घुमाएर ३ बजे बनाइन्छ । नोभेम्बरको पहिलो आइतबारको रात २ बजे फेरि घडीमा एक घण्टा घटाएर १ बजे बनाइन्छ ।

अमेरिकालगायत केही देशमा गर्मी मौसममा साँझ्को उज्यालो सदुपयोग गर्न घडीलाई एक घन्टा अगाडि सारिन्छ । जाडो शुरू भएपछि त्यो समय फेरि फिर्ता गरिन्छ । यसलाई ‘डे–लाइट सेभिङ टाइम’ भनिन्छ ।

कतिपय ठाउँमा घडी घुमाउन सम्झउने पनि गरिन्छ । तर डिजिटल मोबाइल, घडी आदिमा आफैं समय मिल्ने भएकाले पहिलेभन्दा अहिले सजिलो भएको छ ।

चार ऋतु
एक्रनका निरौलाले बनारसमा पढेका ६ ऋतु (वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर) अमेरिकामा भेटेनन् । यहाँ चार वटा ऋतु छन् । ती ऋतुलाई १२ महीनामा तीन–तीन वटामा विभाजन गरिएको छ ।

जसअनुसार, वसन्त (मार्च, अप्रिल, मे), ग्रीष्म (जून, जुलाई, अगष्ट), शरद (सेप्टेम्बर, अक्टोबर, नोभेम्बर) र हिउँद (डिसेम्बर, जनवरी, फेब्रुअरी) मा पर्छन् ।

धेरै वर्ष अमेरिकाबाहिर बिताएर अलि पाको उमेरमा यहाँ आउनेका लागि नयाँ समयका रूप बुझ्न/बुझाउन कठिनाइ भएको धेरैको अनुभव छ ।

(कोइराला अमेरिकी न्यूजलेटर अक्षरिका का सम्पादक हुन् ।)

प्रतिकृया दिनुहोस