नारायणी अस्पतालको सटरमा प्रशासनद्वारा सिल
व्यवसायीहरुले भाडामा प्रयोग गर्दै आएका नारायणी अस्पतालका सटरहरुमा स्थानीय प्रशासनले सिल गरेको छ ।
आज वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र सञ्चालनमा रहेका १४ वटा औषधि र चिया पसलमा प्रशासनले सिल गरेको हो ।
सटर खाली गर्न अस्पतालले पटक–पटक गरेको आग्रहलाई अटेर गरेपछि स्थानीय प्रशासनको निर्देशनमा १४ वटा सटरमा सिल गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए ।
अस्पताल हाताभित्र रहेका पसलहरूले मासिक रु. दुई हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ ।
अस्पताल प्रशासनले सटर भाडाको सम्झौता सकिएको भन्दै पटक–पटक खाली गर्न आग्रह गर्दै आएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज