दलीय सहमतिमा प्रदेश प्रमुख तोकिने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् ।
आज राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सहमतिमा नै प्रदेश प्रमुख तोकिने तयारी भएको बताएका हुन् ।
प्रमुख नहुँदा प्रदेशसभा सदस्यको शपथग्रहण रोकिएको बताउँदै देउवाले शपथग्रहणकै लागि पनि तत्काल प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र स्थापनापछि पहिलो पटक मनाइएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका विषयमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजाति, समुदाय, भाषा र संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकतालाई बलियो बनाउन सबै दलको सहकार्य जरुरी रहेको बताए ।
समारोहमा उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए ।