डा केसीले अनशन कायमै राख्ने
प्राध्यापक डा गोविन्द केसीले चार दिनदेखि जारी आफ्नो अनशन कायमै राख्ने भएका छन् ।
आज, एक विज्ञप्ति जारी गर्दै डा केसीले २६ पुसमा सर्वोच्च अदालतको आदेशबाट ‘प्रधानन्यायाधीशलाई न्याययिक छानविनको दायारामा राखेकोमा’ उक्त आदेशको प्रशंसा गरेका छन् ।
आफूले प्रधानन्यायाधीशको राजीनामा मागेकोमा ‘न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको’ उनले बताएका छन् ।
त्यसबाहेक आफ्ना मागका बाँकी बुँदाहरु सम्बोधन नभएकाले अनशन जारी रहने डा केसीले बताएका छन् ।
हिजो सर्वोच्च अदालतबाट तारेखमा रिहा गरिएपछि डा केसीले आजबाट अनशन तोड्न सक्ने अनुमान गरिएको थियो ।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा, चिकित्सा शिक्षा आयोग गठन लगायतका माग राख्दै २४ पुसदेखि १४ औं पटकको अनशन शुरु गरेका हुन् ।