समाचारबिहिवार, पौष २७, २०७४

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

हिमालखबर

हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका- ९ होर्तमा आगलागीबाट पाँचसय वर्ष पुरानो मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिएका छन् ।

आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेका छन् ।

बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो । 

प्रतिकृया दिनुहोस