धादिङमा मिनीबस दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु
धादिङको मार्पाक–६ मा मिनीबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
धादिङ सदरमुकामबाट झार्लाङ जाँदै गरेको बा ३ ख ३३१८ नं को बस मार्पाक–६, लावाङको उकालोमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।
बसमा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ ।
पहिरो झरेको बाटोबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको हो । बसमा अधिकांश सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका यात्रु थिए ।