डा केसी भन्छन, ‘अदालतको आदेश सकारात्मक’
डा गोविन्द केसीले सर्वोच्च अदालतको आदेश सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले भने, “आजको आदेशलाई मैले सकारात्मक रुपमा लिएको छ, तर धेरै कुरा बाँकी नै छन् ।”
उनले आफ्नो अनशन जारी राख्ने वा नराख्ने भन्नेबारे भोलि निर्णय गर्ने बताएका छन् ।
उनले आफूलाई सहयोग गर्ने अधिवक्ता र सम्पूर्ण सहयोग शुभेच्छुहरुमा आभार ब्यक्त गरे ।
केसीका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीको माग बमोजिम प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको माग पूरा भएको र यसले अदालतको साख समेत जोगिएको बताए ।
“अदालतले डा केसीका मागको पनि सुनुवाई गरेकोे छ, अन्तिम फैसला त छानविनपछि मात्रै आउला,” अधिवक्ता भण्डारीले भने, “यसले डा केसीको अभियानमा समेत थप बल पुगेको छ ।”
सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएको विरोधमा डा केसीले सोमबार, २४ पुसदेखि अनसन शुरु गरेका थिए ।
उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन शुरु गरेलगत्तै उनी विरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा ड केसीको बयान र दुवै पक्षको बहस सकिएपछि आज, २६ पुसमा सर्वोच्च अदालतले डा केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।