डा केसी साधारण तारेखमा रिहा
सर्वोच्च अदालतले प्राध्यापक डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।
इजलासले केसीको माग अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ।
“गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू,” आदेशमा उल्लेख छ ।
अदालतले शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत माग गरेको छ।
डा केसीले बयानमा अदालतलाई घृणा हुने अभिव्यक्ति आफूले नदिएको, स्वच्छ अलोचनामात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको भनेका कारण उनको स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरबमोजिम हुने गरी रिहा गर्न सर्वोच्चले आदेश दिएको छ।