राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले २४ माघ, बुधबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले ७ माघमा मतदाता नामावली प्रकाशन गर्ने, ९ माघमा अन्तिम नामावली प्रकाशन गरी १० माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २४ माघमा बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।
यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ छ ।
राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
तीमध्ये प्रत्येक प्रदेशबाट महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुनेछन् ।
त्यस्तै ७ जना जिल्ला न्यायाधीशलाई २७ पुसदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्नेे र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २९ गते स्थापना गर्ने पनि आयोगले निर्णय गरेको छ ।