टिप्पणीबुधवार, पौष २६, २०७४

राष्ट्रियताकाे पुनर्जागरण

शेखर खरेल

पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।

‘फ्ल्यासब्याक’ मा २०६२–६३ को जनआन्दोलनपछिका दिनहरू नाचिरहेका छन्, जुन बेला ‘नयाँ नेपाल’ र ‘क्रमभङ्गता’ जस्ता शब्दावलीले सुनामी झैं नेपाली इतिहास र स्थापित मानकमाथि धावा बोल्दैथिए ।

देशका गौरव र धरोहरहरू धूलिसात् गर्दै नेपाललाई पश्चिमा स्वार्थको नवउपनिवेश बनाउने त्यस चक्रवातमा सबैभन्दा बढी राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, नेपाली भाषाका स्पन्दन भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि परेका थिए । 

कथित नयाँ नेपालका प्रायोजित अभियन्ताहरू क्रमभङ्गताका नाममा राष्ट्रनिर्मातामाथि ‘जाइ कटक’ गर्दै थिए । चीनको असफल सांस्कृतिक क्रान्तिको झलक दिने गरी मुलुकभर उनका सालिक ढालिंदै थियो । हुँदाहुँदा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारअघिको उनको पूर्ण कदको सालिकलाई समेत कपडाले बेरियो ।

वर्षौंदेखि उनको जन्मदिवसमा मनाइँदै आएको राष्ट्रिय एकता दिवस हठात् खारेज गरियो । राष्ट्रनिर्माताको पक्षमा अभिमत दिन सक्ने चिन्तक, लेखक आदिसम्म पाउन हम्मे–हम्मे पर्न थाल्यो । नयाँ नेपालको अन्धवेगमा मानिस ‘कुइरोका काग’ जस्तै भए ।

सात समुद्रपारका माक्र्स र स्टालिनदेखि छिमेकका माओसम्म मुलुकमा पुजिए तर सिंहदरबार प्रवेशद्वारकै राष्ट्रनिर्माताको सालिकको घुम्टो खोलिइएन ।

शायद सिंहदरबार छिर्नेहरूका निम्ति राष्ट्रनिर्माताको सालिक ‘अशोभनीय’ बनिदियो । एउटा सानो कालखण्ड कुनै खग्रास ग्रहणको भाँती पृथ्वीलाई छोपिरह्यो । तर, सूर्यको दिव्य तेजमाथि सधैंभरि ग्रहण लागिरहनु संभव नभए जस्तै, पृथ्वीमाथिको ग्रहण पनि क्षणभङ्गुर भयो ।

दोस्रो जनआन्दोलनपछि सत्ताको मियो समाउन पुगेका गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले विना कुनै औचित्य र कारण खारेज गरिदिएको राष्ट्रिय एकता दिवस (२७ पुस) यस वर्षबाट मनाउने निर्णय उनकै विरासत समातेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेको छ ।

पृथ्वीजयन्ती खारेज गर्दाताकाका गृहमन्त्री कृष्णप्रसाद सिटौला आज एक राजावादीसँगै चुनावमा हारेका छन् । उता, क्रमभङ्गताका भाष्यकार बाबुराम भट्टराई आफ्नै मूलघर माओवादी (पार्टी) सँग क्रमभङ्ग गरी ‘बैरी’ कांग्रेसको सहारामा विजयी भएका छन् ।

पछिल्लो दशक सबैको परीक्षणको कालखण्ड थियो । शायद, राष्ट्रनिर्माता पनि निर्मम परीक्षणबाट गुज्रन अभिशप्त थिए । उनीमाथि अन्धविश्वास र सन्देह गर्ने दुवैथरी यथार्थको धरातलमा उत्रनु थियो ।

अन्धविश्वास यस अर्थमा कि, हिजो पृथ्वीनारायण सबैभन्दा बढी उनकै सन्तति र एकदलीय व्यवस्थाका पक्षपोषकहरूद्वारा भजाइए । उनको सौर्य र गाथा भजाउँदै उनका लायक र नालायक दुवैथरी सन्ततिहरूले आफ्नो शासन सुरक्षित बनाएका थिए ।

लाग्थ्यो, उनी नागरिकका नभई सन्ततिका पेवा हुन् । सन्देह गर्नेहरूका लागि पृथ्वीनारायण शाहवंशका पूर्वज मात्र थिए । त्यसैले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको बहिर्गमनसँगै उनलाई तिरस्कार गरियो ।

तर सत्य यी दुवैभन्दा पृथक् थियो, जुन समयक्रममा प्रमाणित भइछाड्यो । मुलुक गणतन्त्रमा गएपछि पृथ्वीनारायणको अर्थ र योगदान झन जाज्वल्यपूर्ण भयो । यस मुलुकको चौहद्दी मान्ने चाहे राजावादी हुन् वा गणतन्त्रवादी, लोकतन्त्रवादी हुन् वा वामपन्थी सबैले आफ्नो अस्तित्वको उत्पत्ति पृथ्वीनारायणमा देखे ।

हुन त मुलुकमा उनलाई उपनिवेशवादी, अतिक्रमणकारी, आतङ्ककारी, आततायी आदिको बिल्ला भिराउँदै नश्लवादको पक्षपोषण गर्ने एउटा सानो तप्का नभएको होइन ।

तर, जात र नश्लको साँघुरो पहिचान भन्दा पनि विशाल र स्वाधीन राष्ट्रको अस्तित्वमा आफ्नो परिचय रूचाउनेका निर्विकल्प प्रेरणा स्रोत पृथ्वीनारायण नै हुन् । हिजो अन्धवेगमा जहाँ–जहाँ उनका सालिक ढालिए, त्यहाँ सालिकको पुनस्र्थापनाको पहल हुनु राष्ट्रियताकै पुनर्जागरण हो ।

उदाहरणका लागि, एउटा समूह पोखराको पृथ्वी चोकमा पृथ्वीनारायणको सालिक स्थापना निम्ति संकल्पित देखिन्छ । यस्तो ऊर्जा मुलुकभर संचारित हुँदैछ । समयक्रममा क्रमभङ्गता ‘क्लिसे’ मा परिणत भएको छ ।

राष्ट्रिय दिवसको संकल्प
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई हामीले राष्ट्रिय एकता दिवसका रूपमा मनायौं । राजतन्त्र र प्रजातन्त्र दुवै कालमा गद्दीनसिन राजाको जन्मदिन नै अघोषित राष्ट्रिय दिवस रहन्थ्यो ।

मुलुक गणतन्त्रमा रूपान्तरित भएसँगै २००७ सालदेखि मनाउँदै आएको प्रजातन्त्र दिवस सँगसँगै लोकतन्त्र, गणतन्त्र र अहिले आएर संविधान दिवससमेत थपिएको छ । तर पनि मुलुकभित्र, छरिएका नेपाली डायस्पोरा र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले मनाउने एउटा सर्वमान्य ‘राष्ट्रिय दिवस’ जुर्न सकिरहेको छैन ।

दशक लामो ग्रहणपश्चात् पुनः पृथ्वीजयन्ती मनाइँदै गरिएको परिप्रेक्षमा यसै दिनलाई राष्ट्रिय दिवस कायम गरिनु उचित हुने पंक्तिकारको प्रस्ताव छ ।

नेपालीलाई स्वाधीन राष्ट्र र स्वतन्त्र पहिचान दिने राष्ट्रनिर्माताको जन्म दिनलाई नै राष्ट्रिय दिवस मनाउनु भन्दा उत्तम अरू के नै हुन सक्छ र !

प्रतिकृया दिनुहोस