ब्लगबुधवार, पौष २६, २०७४

आन्तरिक आतंक भोगिसक्यौं, अन्तर्राष्ट्रिय आतंक छिर्न नदिऊँ

कनकमणि दीक्षित

भारत, पाकिस्तान र अफगानिस्तान विशेषगरी अन्तर्राष्ट्रिय आतंकवादको मारमा छन्, जसले ती एक–एक मुलुकको आन्तरिक राजनीतिलाई समेत असर पारेको छ, लोकतन्त्रलाई कमजोर बनाइदिएको छ ।

नेपालले हिंसा र आतंकको समय पार गरेको छ । आजको राजनीतिक गतिरोध तथा चुनौतीलाई तुलनात्मक रुपमा हेर्न जरुरी छ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नेतृत्वमा माओवादीले ठूलो क्षति पुर्‍यायो नेपाली जनतालाई ‘जनयुद्ध’ थोपरेर, वर्ग संघर्ष भन्दै क्याडर र लडाकूको बलमा जनतालाई आतंकित पारेर । राज्यको प्रतिक्रियाले आम नागरिकलाई थप मारमा पार्‍यो । 

तर, नेपालमा पहिचान वा धर्मको नाममा ‘जिहाद’ भने भएन । वितेको दशकमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षले अन्तरसामुदायिक विग्रह ल्याउन भरमग्दुर कोशिश गर्दा त्यसो पनि भएन । ध्रुवीकरण एउटा विन्दुमा गएर रोकियो । अब घाउमा मल्हम लगाउने अवसर आएको छ, नयाँ संविधान कार्यान्वयनको सन्दर्भमा ।

बम्बई लियोपोल्ड क्याफेका नारायण भट्टराई । तस्वीरहरु: कनकमणि दीक्षित

धर्मको नाममा मच्चाइएको आतंकवाद दक्षिणएशियाली छरछिमेकमा यत्रतत्र देखिन्छ । भारतमा हिन्दूत्ववादीहरूले त्यो मुलुकका मुसलमान, इसाईलगायत दलित जमातलाई सशंकित पारिदिएका छन् ।

द्वन्द्वकालीन श्रीलंकामा राज्यलाई कठोर बनाउन भिक्षुहरूको करामत देखिएकै हो । आज अर्को बौद्धबहुल बर्माकी आङ सान सुची नेतृत्वको सरकारले रोहिंग्या मुस्लिम समुदायलाई अकल्पनीय पीडा दिंदै विस्थापित र राज्यविहीन बनाइदिएको छ । भूटानले त आफ्नो जनसंख्याको सात भागको एक भाग ल्होत्साम्पा समुदाय नै शरणार्थी बनाएर देशनिकाला गरिदियो ।

आतंकवादबाट सबभन्दा बढी पीडित जनता चाहिं पाकिस्तानका हुन्, जहाँ सिया–सुन्नी र पृथकतावादीदेखि सीमापारबाट आएका बन्दूक–बमधारी, र सैनिक जासूस केन्द्रसम्मकाहरूबाट हुने सांघातिक आक्रमण तथा विभिन्न समुदाय (पञ्जाबी, सिन्धी, बलोच, पठान इत्यादि) बीचको मनमुटावबाट सिर्जित द्वन्द्वले नागरिकहरुलाई आक्रान्त पारेको छ ।

पाकिस्तानी जनताले खेप्नु परेको पीडाप्रति नेपाललगायत विश्वभरका जनताले पर्याप्त संवेदनशीलता देखाउन सकेका छैनन् ।

आन्तरिक विग्रह, ध्रुवीकरण, हिंसा र आतंक बाहेक दक्षिणएशियाका अधिकांश मुलुक अन्तर्राष्ट्रिय आतंकवादबाट पनि पीडित छन् । बाह्य राजनीतिक हस्तक्षेपबाट नेपाल पीडित हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय आतंकवादबाट भने आजसम्म बचेको छ र यही स्थिति कायम राख्न हाम्रो प्रयास हुनुपर्छ ।

भारत, पाकिस्तान र अफगानिस्तान विशेषगरी अन्तर्राष्ट्रिय आतंकवादको मारमा छन्, जसले ती एक–एक मुलुकको आन्तरिक राजनीतिलाई समेत असर पारेको छ, लोकतन्त्रलाई कमजोर बनाइदिएको छ । आन्तरिक राजनीतिमा अतिवाद र अवसरवादले प्रश्रय पाएको छ । 

भारत आन्तरिक र अन्तर्राष्ट्रिय आतंकले आक्रान्त त्यति छैन जति पाकिस्तान छ । तर, भारतमा पनि ठूला घटना भएका छन् । गत दशकको सबैभन्दा चर्चित आतंकको दृष्टान्त नोभेम्बर २६, २००८ को बम्बई हमला थियो ।

पाकिस्तानबाट डुंगामा आएका १० जना लस्कर ए तइबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेर १६४ जनाको ज्यान लिए । ९ जना आतंकवादी मारिए भने एकजना अजमल कसाब समातिए । पछि उनलाई फाँसी दिइयो ।

बम्बईले बेहोरेको २००८ को आतंकको भुक्तभोगी साक्षी थियो पश्चिमा टुरिष्टहरूले खचाखच भरिने गरेको इरानी रेस्टुरेन्ट– लियोपोल्ड क्याफे ।

त्यो दिन नाजिर र शोएब नामका दुईजना बन्दूकधारीको तारो बन्यो लियोपोल्ड क्याफे । रेस्टुरेन्टभित्र पसेर ती दुईले गोली बर्साउँदा १० जना ग्राहकको त्यहीं मृत्यु भयो, कैयन् घाइते भए ।

स्याङ्जा वालिङका नारायण भट्टराई लियोपोल्ड क्याफेमै काम गर्थे, अझै गर्छन् । हमलाको बेला उनी परिवारलाई भेट्न स्याङ्जा आएका थिए । एउटा नेपाली नागरिक त्यतिबेला बचे, उनका दुई सहकर्मीको ज्यान गुम्यो ।

गत हप्ता यो पंक्तिकार लियोपोल्ड क्याफे पुग्दा नारायणजीले कामको हतारोबीच आफूले गुमाएका साथीहरूको सम्झना गर्दै सिलिङ र भित्तामा यथास्थितिमा राखिएका गोलीका डोबहरु देखाए । उनले भने, “त्यत्रो हमलाको चार दिनभित्रै लियोपोल्डले आफ्नो ढोका खोल्यो र आजसम्म पाहुनाको खचाखच जारी छ । लाइफ् गोज् अन् ।”

र, नयाँ वर्षको शुभकामनासहित नारायणजीले २०१८ को क्यालेण्डर पनि थमाए । देश बाहिर एउटा नेपालीले अर्को नेपालीलाई देखाउने आत्मीयताको प्रापक भयौं हामी ।

त्यताबाट फर्केर लियोपोल्ड क्याफे सम्झँदा उठेका भावना– (१) नेपाली नागरिकलाई नेपालभित्रै सुरक्षा र सम्मानका साथ काम गर्ने वातावरण बनाउनुपर्‍यो; (२) अन्यत्र पनि अन्तर्राष्ट्रिय आतंकवाद घट्दै जाओस्, अनि नेपालमा कहिल्यै छिर्नै नदिने काम गरौं ।

प्रतिकृया दिनुहोस