रौतहटमा जाडोको कहर, कठांग्रिएर मृत्यु हुनेको संख्या १० पुग्यो
सबैभन्दा बढी निरक्षर रहेको जिल्ला रौतहटमा जाडोको कहरले १० जनाको मृत्यु भइसकेको छ भने आम जनजीवन कष्टकर बनेको छ ।
रौतहटमा २५ पुस साँझसम्म जाडोले कठांग्रिएर मृत्यु हुनेको संख्या दश पुगेको छ । मंगलवार, २५ पुसमा मात्र तीनजनाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–७ प्रतापपुर पल्टुआकी ४३ वर्षीया फुलकुमारी पासवान, चन्द्रपुर नगरपालिका– १० बरेडवाकी झलियादेवी थरुइन र माधवनारायण नगरपालिका १ दीपहीकी ३६ वर्षीया धनमायादेवी कहारिनको जाडोले कठांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै गरी सोमवार राति राजदेवी नगरपालिका–९ ब्रह्मपुरीका ७० वर्षीय अलकबहादुर सिंह र परोहा नगरपालिका ९ रामपुर टोलका ७० वर्षीया नसुरुल्ला खातुनको राति ओछ्यानमा सुतेकै अवस्थामो कठांग्रिएर मृत्यु भएको छ ।
यसअघि परोहा नगरपालिका–२ जिंगडवाका ४५ वर्षीय शेख समिम, रामपुरखापकी ६५ वर्षीया मरठियादेवी कुर्मी, राजदेवी नगरपालिका–७ मुडबलवाका ७५ वर्षीय अयोधी राययादव, गढीमाई नगरपालिका–४ सुन्दरपुरका ५५ वर्षीय महर्जन ठाकुर हजाम र सर्लाही घर भई गढीमाई नगरपालिका १ समनपुरमा संचालित इँटा उद्योगमा कार्यरत ५५ वर्षीय नेक महम्मद अलीको जाडोले कठांग्रिएर मृत्यु भएको थियो ।
लगातारको शीतलहरीपछि सोमवार अलिकति घाम लागेको थियो भने मंगलवार दिउँसोदेखि पनि अलिकति घाम लागेको थियो । बिहान अत्यन्तै बाक्लो कुहिरो र दिनभर चिसो पश्चिमा बतास चलिरहेको हुनाले जाडो अत्यन्तै बढेको छ ।
अत्यधिक चिसोले मुख्य गरी विपन्न, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र सुत्केरी महिलालाई जाडोले प्रभावित बनाएको छ । जाडोले कठांग्रिएर मृत्यु हुनेमा अधिकांश यिनै समूहका छन् ।
सञ्जय मित्र, रौतहट