कतिबेला घाम झुल्किएला र बाँचिएला...
महाभूकम्पपछिको ३२ महीनामा काठमाडौंमा पाँचौं पटक सरकार र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत फेरिने तयारी भइरहँदा देशभर ६ लाख ८८ हजार भूकम्पपीडित परिवार कटेरोमै हिउँदे स्याँठ सहिबसेका छन्।
तीन महीनाकी योनसाङ दुई महीनासम्म त शान्त स्वभावकी थिइन्, आमाको दूध चुस्यो कि सुतिहाल्थिन् । मंसीर तेस्रो सातादेखि भने उनी राति राति रुन थालेकी छिन् । नातिनीलाई नजिकैको मानेखर्क स्वास्थ्य केन्द्रमा लगेकी बज्यै माइली तामाङले भनिन्, “बिरामी त होइन, चिसोले रुँदिरहिछ ।”
उसो त हिउँद लागेदेखि माइली आफैं पनि राति ढुक्कले सुत्न सकेकी छैनन् । चिसोले छिनछिनमा निद्रा खुल्छ । राति अबेरसम्म आगो धुवाउनुपर्छ । योनसाङलाई भने उनले पुस लागेदेखि राति पनि कोक्रोमै सुताउने गरेकी छन् । रात परेपछि परिवारका सबैलाई कतिबेला उज्यालो होला र घाम झुल्किएला भन्ने हुन्छ । माइली भन्छिन्, “चिसोमा न्यायो घर भएन, यो नातिनीको पो पाप लाग्छ कि !”
१२ वैशाख २०७२ को महाभूकम्पमा ढलेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका घरहरू ठडिएका छैनन् । भूकम्पपीडितहरू भग्नावशेषमाथि जस्तापाताको कटेरो बनाएर बसिरहेका छन् । थाङपाल मात्र होइन, सबैतिरको अवस्था उस्तै छ । भूकम्पले घर भत्काएका ६ लाख ८८ हजार १९१ परिवार न्यानोका लागि घामकै भरमा छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्यांकअनुसार पनि निर्माण गर्नुपर्ने ७ लाख ६७ हजार ७०५ निजी घरमध्ये ११ पुससम्म १० प्रतिशत अर्थात् ७९ हजार ५१४ घर मात्र बनेका छन् । १ लाख ३ हजार ६१ परिवार भूकम्पपीडितले त घर बनाउन सरकारबाट एकपैसा पनि पाएका छैनन् । २०७३ दशैं–तिहारतिरै पहिलो किस्ता रु.५० हजार पाएका तीनलाखभन्दा बढी परिवारको पनि घर बन्ने छाँटकाँट छैन ।
चिसोकै चिन्ता
हिउँद शुरू भएदेखि मानेखर्ककै कान्छी तामाङ पनि घामकै प्रतीक्षामा हुन्छिन् । २ पुस बिहान सात महीनाको छोरो ज्याबालाई घाम तपाउँदै गरेकी उनले भनिन्, “हामी त सहिहाल्छौं, यसलाई गाह्रो छ ।” भूकम्पमा घर भत्किएकी उनले वर्ष दिनअघि पहिलो किस्ता रु.५० हजार पाएकी थिइन् ।
त्यो रकम भूकम्पका बेला लागेको ऋण तिर्न र घरखर्चमै सकियो । “घर त बनाइहालुँला” घरभन्दा ज्याबाको चिन्ता रहेको बताउँदै उनी भन्छिन्, “अर्को वर्ष ठूलो भइहाल्ला, यो चिसोमा रोगबाट बचाउन सके हुन्थ्यो ।”
त्यही वडाको मानेकङकी योगमाया रामदामको १० जनाको परिवार भूकम्पले घर भत्केपछि सडकछेउमा कटेरो बनाएर बसेको छ । खानपिनको सदावहार समस्यामाथि हिउँदमा चिसोको कहर थपिन्छ । घाम डुबेपछि कटेरो बाहिर निस्किन मुश्किल हुन्छ, भित्र सबैलाई ओढ्ने–ओछ्याउने पुग्दैन ।
गत भदौमा पाएको पहिलो किस्ता रु.५० उतिबेलै दालचामल किन्दा र ऋण तिर्दैमा सकिएको योगमायाले बताइन् । उनले अब घर कसरी बनाउने भन्ने चिन्ता पनि गर्न छाडेकी छन् । भन्छिन्, “गाउँमा ऋण पाइँदैन, सरकारले दिंदैन ।”
थिरबहादुर बस्नेतले ऋणधन गरेर त्यही गाउँकै मिलनचोकमा तीनतले घर बनाएको वर्ष दिन पुग्नै लाग्दा १२ वैशाख २०७२ मा महाभूकम्प आयो । गत असोजमा सरकारले दिएको पहिलो किस्ता रु.५० हजार घर बनाउने तयारी गर्दैमा सकिएको उनले बताए ।
हिउँद लागेदेखि उनलाई घरको चिन्ताभन्दा भूकम्पमा चोट लागेको खुट्टाले बढी सताउन थालेको छ । चिसोले उनको खुट्टो दुख्छ । त्यसमाथि, पाँच जनाको परिवारमा दमका बिरामी ८० वर्षीय बुवाको चिन्ता छ । “अहिलेलाई सजिलोसँग चिसो कटाउन पाए हुन्थ्यो” थिरबहादुर भन्छन्, “घर भनेको पछि पनि बनाउँला !”
सिन्धुपाल्चोकमा भूकम्पपछि ७६ हजार ५१ परिवार कटेरोमा बसिरहेका छन् । तीमध्ये ७ हजार १३६ परिवारले ७ पुससम्म कुनै पनि सरकारी सहयोग पाएका छैनन् । पहिलो किस्ता रु.५० हजार पाएका ७५ हजार ६५२ भूकम्पपीडितमध्ये ३९ हजार ५३३ ले घर बनाउने सुरसार गरेका छैनन् ।
सिन्धुपाल्चोकमा मात्रै होइन, भूकम्प अतिप्रभावित १४ वटै जिल्लामा अवस्था उस्तै छ । २०७३ दशैं–तिहारताका पाएको पहिलो किस्ता चाडबाडमै सकियो । पुनःनिर्माण प्राधिकरणले घरको जग नहाली दोस्रो किस्ता दिंदैन ।
भूकम्पको केन्द्रविन्दु रहेको गोरखामा पहिलो किस्ता पाएका ५४ हजार ५२१ मध्ये १८ हजार ५४३ परिवारले घर बनाउने सुरसार नगरेको जिल्ला समन्वय समिति (जिसस) का संयोजक शिवलाल पौडेल बताउँछन् ।
उनका अनुसार, गोरखामा ९ हजार ८७ घर बनेका छन् भने २६ हजार ८९१ घर बनिरहेका छन् । त्यस्तै, जिसस, काभ्रेका संयोजक ध्रुवप्रसाद गैडा काभ्रेमा पहिलो किस्ता लगेका ६५ हजार ७७३ मध्ये ४७ हजार ९५१ परिवारले घर बनाउन नथालेको बताउँछन् । काभ्रेमा ४ हजार ३४७ घर पुनःनिर्माण भएका छन् भने १३ हजार ४७५ घर निर्माणाधीन छन् ।
जिसस, धादिङका संयोजक रवीन्द्र पञ्जिकार भूकम्पबाट अतिप्रभावित १४ वटै जिल्लाको अवस्था उस्तै रहेको बताउँछन् । जिसस संयोजकहरूका अनुसार, पहिलो किस्ता सिध्याएका पीडितहरूलाई प्रोत्साहन गर्ने गरी दोस्रो किस्ता दिने व्यवस्था नगर्ने हो भने तीन लाखभन्दा बढी घर नबन्ने अवस्था देखिएको छ ।
तर, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल कसैलाई केही छूट नमिल्ने बताउँदै भन्छन्, “पहिलो किस्ता पाएकाले घरको जग हाल्नैपर्छ, अनि मात्र दोस्रो किस्ता पाउँछन् ।”
प्राविधिक अल्झे
मानेखर्ककै गरुङ तामाङले रु.७ लाख खर्चेर २०७३ माघमै घर बनाए । उनले हालेको ढुङ्गाको जग देखाउँदा प्राधिकरणका प्राविधिकले ‘ठीक छ’ भनेका थिए । इँटाले घर बनाउँदै जाँदा कोठाको लम्बाइ–चौडाइ अलिकति बढी भयो । त्यही कारण इन्जिनियरले पास नगरेको गरुङ बताउँछन् ।
“घर बनाउँदा लागेको रु.२ लाख ऋणमध्ये केही दोस्रो र तेस्रो किस्ताबाट तिरौंला भन्ने सोचेको थिएँ” उनी भन्छन्, “प्राविधिक अड्को थापेर नदेलान् जस्तो छ ।”
भूकम्पपीडितहरूले आफ्नै खर्चले बनाएका तर प्राधिकरणले प्राविधिक कुरा निकालेर स्वीकृत नगरेका घर संख्या पनि धेरै छन् । सिन्धुपाल्चोकमा दुई हजारको हाराहारीमा यस्ता घर रहेको जिससले जनाएको छ ।
उता, गोरखामा निर्माण भइसकेका ४ हजार २०० घर अस्वीकृत भएका छन् । कुनैका कोठा, कुनैका छानो ठूलो वा सानो भएको जस्ता कुरामा अल्झ्एिको छ । जिसस, गोरखाका संयोजक शिवलाल पौडेल सर्वसाधारणले आफैं खर्च जुटाएर बनाएका ती घर स्वीकृत गर्न प्राविधिक कुराले गाह्रो भएको बताउँछन् ।
अझै ‘गुनासो’ मै
भूकम्पले घर भत्काएको ३२ महीनापछि पनि थाङपाल, नागीकी नेत्रा नेपाली गुनासोको सूचीमा छिन् । उनलाई घर बनाउन सरकारी अनुदान पाउने, नपाउने केही अत्तोपत्तो छैन । पाँच छोराछोरीसहित तेस्रो हिउँद कटेरोमै बिताइरहेकी उनी भन्छिन्, “अरूकै जस्तै हाम्रो पनि भत्किएको घर हेरेकै हुन्, तर नाम राखिदिएनछन्, अहिले गुनासोमा लेखाएका छौं ।”
गिट्टी कुटेर सात जनाको परिवार पालिरहेकी मानेखर्ककी माया तामाङ पनि कतिपय छिमेकीले घर बनाइसकेपछि ‘गुनासो’ मा परेकी छन् ।
प्राधिकरणले अनुदान पाउने सूचीमा छुटेका सिन्धुपाल्चोकका ५ हजार १२६ परिवारलाई गुनासो फछ्र्योट पछि लाभग्राहीको सूचीमा राखेको छ ।
दोलखामा यो संख्या १० हजार ८९३ छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका २ लाख ५ हजार ६३४ परिवारले गुनासोमा नाम दर्ता गराएकोमा प्राधिकरणले २ लाख ५ हजार ५८४ गुनासो छानबिन गरेर ४० हजार ९६७ लाई लाभग्राहीको सूचीमा राखेको छ । उनीहरूले अहिलेसम्म घर बनाउन केही पाएका छैनन् ।
सर्वसाधारणको निजी घरको के कुरा, भूकम्पपछिको ३२ महीनामा सरकारी भवनहरूको पुनःनिर्माण गतिहीन छ । भत्किएका २ हजार ६६३ सरकारी भवनमध्ये जम्मा २०७ वटा निर्माण भएका छन् भने १२५ निर्माणाधीन छन् ।
त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामध्ये ७९ वटाको मात्र पुनःनिर्माण भएको छ । भूकम्पले भत्काएका ८ हजार ३०८ विद्यालयमध्ये ११ पुससम्म २ हजार ७४१ वटाको मात्र पुनःनिर्माण हुनसकेको छ ।