रिपोर्टमंगलवार, पौष २५, २०७४

नेपाली कांग्रेस: कता हिंड्ने, कहाँ पुग्ने

रामेश्वर बोहरा

आम निर्वाचन–२०७४ मा भोग्नुपरेको लज्जास्पद हारपछि पनि निष्फिक्री देखिएको नेतृत्व र पुरानो पुस्ताकै बहिर्गमन खोजिरहेको नयाँ पुस्ताको दबाबबीच सम्हालिने बाटो खोज्दैछ, नेपाली कांग्रेस।

१४ पुसमा प्रदेश सभाका समानुपातिक सदस्य चयन गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक । तस्वीर: रासस

“इमर्जेन्सीमा ‘एड्मिट’ बिरामीलाई आवश्यक ‘डायग्नोसिस’ बेगर ‘अप्रेसन’ यस्तो गरौं भनेर कुनै डाक्टरले अस्पतालको चौरमा बदाम छोडाउँदै/खाँदै भन्छन् भने तपाईं त्यस्तो कर्मलाई पक्कै उचित मान्नुहुन्न ! कांग्रेसको ‘उपचार’ का लागि केन्द्रको बैठक बस्नुपर्छ, एन्टिबायोटिक या अप्रेसन तब टुंगो गरौंला !” 

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सकिएको तीन सातापछि ११ पुसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले यस्तो ट्वीट गरे ।

निर्वाचनमा भोग्नुपरेको लज्जास्पद हारको कारण नपहिल्याएसम्म पार्टी अगाडि बढ्न नसक्ने शर्माको यस्तो धारणापछि १६ पुसमा सात केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन सामूहिक माग पनि गरे ।

पार्टीका केन्द्रीय सदस्यहरू शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेद्वारा जारी संयुक्त विज्ञप्तिमा नेतृत्वले हारका कारण र जवाफ दिनुपर्ने उल्लेख छ । “पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन ? निर्वाचनका दौरान प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?” विज्ञप्तिमा भनिएको छ, “यी प्रश्नको जवाफ खोज्न तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन आवश्यक छ ।”

केन्द्रीय सदस्य पाण्डे चुनावी परिणामबाट निराश कार्यकर्ता पंक्तिमा थोरै भए पनि आत्मविश्वास भर्न राष्ट्रिय मेलमिलाप दिवसकै दिन पारेर सामूहिक अपील गरिएको बताउँछन् । तर, मेलमिलाप दिवसकै दिन नेपाल विद्यार्थी संघद्वारा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले युवा नेताहरूलाई लक्षित गरी ‘आफू चुनाव हार्ने, अनि मेरो विरोध गर्ने ?’ भन्दै उल्टै प्रश्न तेर्स्याए ।

“चुनावको परिणाम हेरेर युवा किन निराश भएको ? म बूढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ नि” देउवाको भनाइ थियो, “चुनावमा पराजयको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्छु । अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही हुन्छ ।”

सुधार या दुर्घटनाको पर्खाइ
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ तेस्रो स्थानमा खुम्चिएको र समग्र चुनावी नतिजामा दोस्रो भए पनि पहिलो स्थानको नेकपा (एमाले) भन्दा निकै पछाडि रहेको कांग्रेसको नतिजालाई प्रजातन्त्र स्थापनायताकै सबैभन्दा खराब मानिएको छ ।

कांग्रेसले किन यो परिणाम बेहोर्नु पर्‍यो भन्ने बारे निर्वाचन सकिएको एक महीनासम्म पार्टीको औपचारिक तहमा छलफलसम्म भएको छैन । सभापति देउवाका अभिव्यक्तिले कांग्रेसमा निर्वाचनको पराजयबारे तत्काल औपचारिक छलफल शुरू हुने संकेत देखाउँदैनन् ।

केन्द्रीय सदस्य गगन थापा नेतृत्वको मनोविज्ञान, अभिव्यक्ति र कामगराइले सामान्य प्राविधिक कारणबाट मात्र निर्वाचनमा पराजय भोग्नुपरेको, समग्रमा पार्टीको ‘पोजिसन’ राम्रै रहेको बुझाइ देखिएको बताउँछन् ।

“यस्तै सोचेर अगाडि बढ्न खोजियो भने कांग्रेस झ्न् ठूलो दुर्घटनामा पर्छ” थापा भन्छन्, “२०६४ सालको निर्वाचनमा पनि कांग्रेसले नराम्रो पराजय भोगेको हो भन्ने तर्क पनि गरिएला । तर, त्यसबेला कार्यकर्तामा पार्टी नीति र नेतृत्वप्रति विश्वास थियो । त्यसले कांग्रेस छिट्टै ‘रिभाइभ’ पनि भयो । आज त्यो स्थिति छैन ।”

थापाका भनाइमा निर्वाचनपछि कांग्रेसका तीन तह (नेतृत्व, कांग्रेसी अर्थात् कार्यकर्ता पंक्ति र समर्थक पंक्ति) भिन्न देखिन्छन् । नेतृत्व यति ठूलो पराजयपछि पनि निष्फिक्री झैं देखिन्छ । कार्यकर्ता पंक्तिमा निराशा र हीनताबोध चुलिएको छ । समर्थक पंक्ति नेतृत्वले भने झैं प्राविधिक कारणवश पार्टी पराजित भएको मान्न पटक्कै तयार छैन, बरु कांग्रेस पार्टी कांग्रेस जस्तो नै नरहेको ठान्छ ।

“देशभरका कार्यकर्ता र समर्थक हतोत्साहित छन्, तिनको मनोबल उकास्न पनि तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बसेर निर्वाचनको समीक्षा गर्नुको विकल्प छैन” अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्छन्, “यसो नगरिए पार्टीमा झ्न् ठूलो ‘ड्यामेज’ हुन्छ ।” नेतृत्वले बैठक नबोलाए हस्ताक्षर अभियान चलाउने उनको भनाइ छ ।

केन्द्रीय सदस्यहरूकै तारन्तारको माग र कार्यकर्ताको दबाबबीच पनि निर्वाचन समीक्षाका लागि बैठक समेत नडाक्नुले कांग्रेस नेतृत्व किंकर्तव्यविमूढ भएको देखाउँछ ।

राष्ट्रिय सभा निर्वाचन अध्यादेशको बहानामा केही समय यसबाट उम्केको नेतृत्व पछिल्लो समय प्रदेशहरूको राजधानी तोक्ने तथा प्रदेश प्रमुखको नियुक्तिको विषयमा अल्झेको छ ।

प्रधानमन्त्री देउवाको सरकारी निवासमा दुईपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रदेश सभामा समानुपातिकतर्फका सदस्यको सूची तयार गर्ने र प्रदेश राजधानी तथा प्रमुख तोक्ने विषयमै केन्द्रित रह्यो ।

केन्द्रीय सदस्य बद्री पाण्डे तत्काल बैठक डाकेर निर्वाचनको समीक्षा गर्नु बाहेक नेतृत्वलाई अर्को सुविधा र विकल्प नभएको बताउँछन् । “हारको समीक्षा, गुटबन्दी अन्त्य र गल्ती सुधारका संकल्पबाहेक नेतृत्वलाई अर्को सुविधा छैन” उनी भन्छन्, “पार्टीको उत्थान गर्ने या पतन रोज्ने भन्नेबाहेक तेस्रो बाटो छैन ।”

‘पुरानो पुस्ताको विश्राम’
पार्टीभित्र केन्द्रीय कार्यसमिति र महासमिति बैठकको आवाज उठिरहेका बेला नेतृत्व चाहिं निर्वाचनबाट प्रचण्ड बहुमत प्राप्त गरेको वाम गठबन्धन फुटाएर नयाँ सरकार बनाउन उद्यत देखिन्छ ।

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई ‘गठबन्धन तोडे पाँच वर्ष प्रधानमन्त्री बनाइदिने’ आश्वासन दिएको दाबी दाहाल स्वयम्ले गरे ।

महामन्त्री डा. शशांक कोइरालाले त गठबन्धन तोड्नु कांग्रेसको प्राथमिकता हुने सार्वजनिक अभिव्यक्ति नै दिए । “कांग्रेसले गठबन्धन सोच्ने होइन, अनावश्यक रूपमा खुम्चने होइन, बहुमतको पार्टी हुने सोच्नुपर्छ” कांग्रेस नेतृत्वको सत्तामोहप्रति संकेत गर्दै राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले १३ पुसमा ट्वीटमार्फत भने, “जनाधार विस्तार र सुदृढ गर्ने, सांगठनिक, राजनीतिक र सैद्धान्तिक रूपमा बलियो हुने सोच्नुपर्छ । नयाँ भूमिका सशक्त बनाउने र जनप्रभाव बढाउने सोच्नुपर्छ । विचार आफ्नो आफ्नो हो, मेरो शुभकामना हो ।”

केन्द्रीय सदस्य कोइराला पनि कांग्रेसले निर्वाचनमार्फत प्रतिपक्षमै बस्ने जनादेश पाएको बताउँछन् । उनी भन्छन्, “समानुपातिकमा पाएको भोट हेरेर कसैले कांग्रेस ठीकै छ भन्छ भने त्यो अर्को गल्ती हुनेछ । हामीले जनादेशलाई नजरअन्दाज गर्नुहुन्न ।”

कांग्रेस नेताहरूका अनुसार यतिबेला पार्टीमा सबथोक लथालिंग छ । वैचारिक अस्पष्टता, विधानको अवमूल्यन, केन्द्रदेखि गाउँसम्म नियमित बैठक नै नबस्ने अव्यवस्था र भद्रगोल पार्टी व्यवस्थापनलाई नेताहरू नेतृत्वकै असफलतासँग जोड्ने गर्छन् ।

केन्द्रीय सदस्य पाण्डे स्पष्ट विचार र एकरूपता, विधानको अक्षरशः पालना, माथिदेखि तलसम्म नियमित बैठक र पार्टी व्यवस्थापन (कार्यालय, कार्यकर्ता र अर्थ व्यवस्थापन) नहुँदा नै पार्टीले निर्वाचनमा यस्तो हविगत भोगेको बताउँछन् ।

“नेतृत्वले यो बाटो समात्नै नचाहेको त होइन भन्ने आशंका उब्जिएको छ” उनी भन्छन्, “नेतृत्वतिर हेरेर समर्थकसम्मको कार्यशैली बिग्रँदो छ, त्यसैले अब नेतृत्व नै सुध्रनुपर्छ ।”

कांग्रेसका नेताहरू माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर संविधानसभाबाट संविधान जारी गरेको, आन्दोलनरत मधेशकेन्द्रित दलहरू समेतलाई मनाएर तीन तहका निर्वाचन सम्पन्न गराएकाले पार्टी राष्ट्रिय राजनीतिमा नभई आफैंभित्र चुकेको बताउँछन् ।

हुन पनि मुलुक संघीय संरचनामा गइसक्दा कांग्रेसका प्रदेश संरचनासमेत बनेका छैनन् । प्रतिनिधिसभाका २४० निर्वाचन क्षेत्रबाट १६५ मा रूपान्तरित भइसक्दा र गाविसहरू गाउँपालिका र नगरपालिका बनिसक्दा कांग्रेसले आफूलाई त्यसमा ढाल्न सकेको छैन । कांग्रेसको विधानले यी कुनै संरचना चिन्दैन ।

विधानमै भएको व्यवस्था अनुसार दुई महीनाभित्र पूर्णता पाउनुपर्ने केन्द्रीय कार्यसमिति महाधिवेशन भएको दुई वर्षसम्म अधुरो छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री जस्ता महत्वपूर्ण पद र १० जना केन्द्रीय सदस्यका पद पूर्ति भएकै छैनन् । भ्रातृसंस्थाको किचलो निको नहुने रोग जस्तै बनिसकेको छ । अधिवेशन भएको तरुण दलमा तीन जना पदाधिकारी मात्र छन् ।

अधिवेशन भए पनि नेविसंघ र महिला संघभित्रको कलह सकिएको छैन । किसान संघ, दलित संघलगायतका भ्रातृसंस्थाको अधिवेशन नभएको वर्षौं बितिसकेको छ । यस्तो बेथिति व्याप्त कांग्रेस सुध्रेला त ?

केन्द्रीय सदस्य गगन थापा तत्काल कांग्रेसको कार्यदिशा स्पष्ट पार्नु र संघीय संरचना अनुसार पार्टी संरचना बनाउनुको विकल्प देख्दैनन् । कांग्रेसले आफूमाथिको ‘भारतपरस्त’ आरोप, संविधान संशोधनलगायतका महत्वपूर्ण मुद्दामा आफ्नो धारणासमेत स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

६ महीनाभित्र यी सबै काम सकेर महाधिवेशनमा जानुपर्ने र त्यहींबाट पहिलो पुस्ताका सबै नेताले विश्राम लिनुपर्ने उनको जोड छ ।

“पञ्चायत र माओवादीविरुद्ध लडेको, माओवादीलाई शान्तिप्रक्रियामा ल्याएको र संविधानसभाबाट संविधान जारी गर्न सफल यो पुस्ताले विश्राम लिने उपयुक्त अवसर यही हो” थापा भन्छन्, “त्यसो गर्न सक्यौं भने लज्जास्पद हार बेहोरेको पार्टी चाँडै पुनःजागृत हुनेछ । नत्र कांग्रेस अकल्पनीय दुर्घटनामा पर्नेछ ।”

प्रतिकृया दिनुहोस