डा केसी प्रहरी हिरासतमै, भोलि मात्रै बहस हुने
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका प्राध्यापक डा गोविन्द केसीको मुद्दा आज हेर्दाहेर्दैमा परेपछि भोलिमात्रै उक्त मुद्दामा बहस हुने भएको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा आजै बहस शुरू गर्ने तयारी भए पनि समय अपुग हुँदा भोलि मात्रै बहस हुने भएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
“डा केसीसँग बयान लिइसकेको भए पनि समायभावका कारण आज बहस शुरु हुन सकेन । उहाँ अझै प्रहरी नियन्त्रणमै हुनुहुन्छ, प्रहरी वृत्त, सिंहदरबार लगिएको छ,” अर्यालले भने ।
भोलि उक्त मुद्दामा पक्ष र विपक्षका वकिलहरुहरुले बहस गर्नेछन् ।
डा केसीले आज सर्वोच्च अदालतमा दिएको बयानमा न्यायालयको अपमान र मानहानी गर्नै आफ्नो कुनै उद्देश्य नभएको, तर गलत क्रियाकलापको विरुद्ध भने आफू लडिरहने बताएका थिए ।
प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।