डा केसीको बयान, 'मैले अदालतको अवहेलना गरेको छैन'
सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिएको छ ।
बयानका क्रममा डा केसीले सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे । उनले न्यायलयको अपमान र मानहानी गर्नै कुनै उद्देश्य नभएको, तर गलत क्रियाकलापको विरुद्ध भने आफू लडिरहने बयानमा उल्लेख गरेका छन् । डा केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीशबाटै भएको बयान दिएको अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।
बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन् ।
प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।