मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, दुई बालक घाइते
महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ ।
एकडारा गाउँपालिका–४ हलखोरी बस्ने ३८ वर्षीया प्रकनियादेवी ज८प ४८६० नंको मोटरसाइकलमा आफ्ना ज्वाइँसँग भारत विहारको सुरसण्डबाट आफ्नो घर आउँदै गर्दा एकडारा–४ स्थित सडकमा उनीहरु चढेका मोटरसाइकलले विपरीत दिशाबाट दुई बालक चढी आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी प्रकनियादेवीलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिएका छन् । मृतकका ज्वाइँ घटनापछि फरार छन् ।
सोही दुर्घटनामा परी साइकलमा चढेका स्थानीयवासी १२ वर्षीय अभिराम पाण्डे र १० वर्षीय अमित पाण्डे घाइते भएकामा उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ ।
से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछामको बयलपाटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मोटरसाइकल चालक मार्तडीस्थित मालिका माविका शिक्षक प्रहरी नियन्त्रणमा छन् ।