‘यो आस्था र विश्वासको आगो हो’ (विरहीसँग पुस्तक वार्ता)
२०३८ सालदेखि पत्रकारितामा होमिएका हरिहर विरही यसक्रममा नेपाल पत्रकार महासंघको सभापति (२०५१) र प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) समेत बने । पत्रकारितामा आउनुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनै विरहीको ६ असोजमा आत्मसंस्मरण ‘आगो निभेको छैन’ पुस्तक बजारमा आएको छ ।
वर्षौंदेखि लेखिरहनु नै भएको थियो, पुस्तक नै निकाल्नुपर्ने आवश्यकता चाहिं किन पर्यो ?
मूलतः म राजनीतिक क्षेत्रमा बढी संलग्न थिएँ । पत्रकारितामा लागेको त लोकतान्त्रिक आन्दोलनलाई बल पुर्याउन र त्यसमा प्रेस स्वतन्त्रतासहित नागरिकका सम्पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ भनेर हो । अहिलेको परिवर्तन आउनुका पछाडि धेरैको भूमिका छ भन्ने नयाँ पुस्ताले थाहा पाओस् भनेर पुस्तक निकालेको हुँ । जनताको बलमा आएको परिवर्तनलाई स्थायित्व दिएर नागरिकका आवश्यकता पूर्ति गर्नेतर्फ नेताहरू गम्भीर हुनुपर्छ भन्ने सन्देश पनि दिन खोजेको छु ।
‘आगो निभेको छैन’ भन्नुको अर्थ चाहिं के हो ?
लोकतन्त्र र सामाजिक न्यायप्रतिको मेरो प्रतिबद्धता पहिलेदेखिकै हो । पंचायती व्यवस्था, लोकतन्त्रहुँदै गणतन्त्र आयो । तर पनि नागरिकका कतिपय समस्या यथावत् छन् । आन्दोलनकारीहरू नै सत्तामा पुगेपछि जुन रुपमा प्रकट भए, त्यसले जनतामा खिन्नता छायो । म पनि खिन्न छु तर निराश छैन । त्यसैले पनि किताबको नाम ‘आगो निभेको छैन’ राखेको हुँ । लोकतन्त्रप्रतिको दियो बलिरहोस् भन्ने चाहनाले पनि यो नाम रोजेको हुँ । आगो भनेको मेरो आस्था हो, विश्वास हो । जुन धिप्धिप् गरेर पनि बलिरहन्छ ।
यो नाम नयाँ पुस्तामाथिको मेरो भरोसा पनि हो । वस्तुवादी, क्षमतावान र प्रतिभाशाली नयाँ पुस्ताप्रति मलाई पूरा विश्वास छ ।
राजनीति गर्छु भन्ने तपाईं पत्रकार बन्नुभयो । राजनीतिप्रति वितृष्णा थियो या पत्रकारिताप्रतिको आकर्षण ?
राजनीतिप्रति वितृष्णा थिएन र छैन । परिवर्तनको सबैभन्दा ठूलो शक्ति राजनीति नै हो । तर, त्यो बेलाको राजनीति पूर्ण स्वतन्त्र भएको भए म पत्रकारितामा लाग्ने पनि थिइनँ । निर्दलीय सरकारले गरेको धाँधली त छँदै थियो । तर, जनतामा पर्याप्त चेतना भएको भए २०३६ सालको जनमत संग्रहबाटै बहुदल आउँथ्यो । चेतनाकै कमीका कारण २०१७ सालमा लोकतन्त्र खोसिंदा पंचायती व्यवस्था त्यति लामो समयसम्म टिक्यो । म पत्रकारितामा लाग्नु जनमत निर्माणकै लागि थियो । फेरि मेरो पत्रकारितालाई समाजले पनि मन परायो ।
देशमा प्रजातन्त्र पुनस्र्थापना गर्ने ध्येयका साथ कांग्रेस विचारधारा समातेर लामो समयसम्म तपाईंसहित एउटा पुस्ता पत्रकारितामा होमिनुभयो । के पाउनुभयो ? के गुमाउनुभयो ?
बेकारमा लागेछु भन्ने महसूस कहिल्यै भएन । मेरा धेरै साथीले लोकतन्त्र देख्न पाएनन्, परिवर्तन देख्न पाएनन् । मैले जनताले अधिकार पाएको देख्न र सहभागी हुन पाएँ । यो नै मेरो जीवनको उपलब्धि हो, गुमेको केही छैन ।
मूल्य र मान्यताको राजनीतिक पुस्ताको संसर्गमा हुर्किनुभएको तपाईंलाई अहिलेको राजनीतिले सन्तोष दिन्छ त ?
दिंदैन । दलहरूले सबै कुरा बिगारे भन्न खोजेको होइन । तर नेताहरू सुध्रिएको भए देशमा धेरै सुखद् परिणाम आइसक्थ्यो । इमानदार र असल कार्यकर्ताको अभावमा पार्टी बिग्रेका होइनन् बरु नेताहरूले उनीहरूलाई चिन्न नसकेका हुन् ।
पुस्तकमा बीपी कोइरालालाई कुनै कमजोरी नै नभएको नेताका रुपमा परिभाषित गर्न खोजिएको भन्ने टिप्पणी सुनिएको छ नि ?
मैले बीपीको कमजोरी लेख्दै नलेखेको होइन । बीपीको राष्ट्रिय मेलमिलापको नीतिप्रति मैले खोट औंल्याएको छु । उहाँको मात्रै होइन, किसुनजी, मनमोहन अधिकारी, राजा वीरेन्द्र, ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइरालालगायतका पनि कमजोर पक्ष उल्लेख गरेको छु । तर, सबैका कमजोरी मात्रै राखौं भन्ने मेरो किताबको उद्देश्य होइन ।
‘बम माग्दा कलम’ शीर्षकमा बीपी कोइरालाको ‘पत्रकारहरू कि बिकेका छन्, कि डराएका छन् वा कहीं न कहींबाट परिचालित छन्’ भन्ने बुझाइ रहेको भन्नुभएको छ । त्यसलाई कसरी बुझ्ने ?
बीपीको त्यो सोचाइ, तत्कालीन परिस्थितिमा पत्रकारहरूको भूमिकाप्रतिको आलोचना थियो, कि निरंकुश राजतन्त्रलाई बल पुर्याउने कि दूतावासबाट सञ्चालित पत्रकार भए भन्ने उहाँको गुनासो थियो । स्वतन्त्र, आँटिलो पत्रकारिता भएन भनेर बीपी आफैं पत्रिका प्रकाशन गर्न तम्सिनुभयो । जसको सम्पादकीय जिम्मेवारी मलाई र पुरुषोत्तम बस्नेतलाई दिनुभएको थियो ।
अहिलेका नेताहरू आफू अनुकूल कुरा आएन भने पत्रिकामाथि लाञ्छना लगाउँछन् । पीत पत्रकारिता भयो भन्छन् । तर, बीपीले पत्रकारको गल्ती औंल्याउने, सुधार्न प्रयत्न गर्नुहुन्थ्यो, पत्रकारिताको विश्वसनीयता गिराउने काम गर्नुहुँदैनथ्यो । बीपी आफैंले पैसा दिएर आफ्नो आलोचना गर्न लगाउनुभयो, समीक्षा पत्रिकामा ।
लामो समय मिसन पत्रकारिता गर्नुभयो । अहिले पनि यसको आवश्यकता देख्नुहुन्छ ?
आज हिजोको जस्तो पत्रकारिताका लागि राजनीति र कानूनी अवरोध छैन । प्रेस स्वतन्त्रता छ । त्यसैले मिसन पत्रकारिताको आवश्यकता छैन । व्यावसायिक पत्रकारिता फस्टाउने प्रशस्त आधार तयार भएका छन् । पाठकको क्रयशक्ति बढेको छ, विज्ञापनदाता बढेका छन् ।
प्रस्तुति: सन्त गाहा मगर