छाउपडी गोठमा महिलाको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु भएको छ ।
२२ वर्षीया गौरी बुढाको २३ पुस राति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
बेलुकी खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । अघिल्लो दिनभर मेलामा खर काटेको र बिरामी नभएको परिवारले जनाएको छ ।
महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थानलाई दुई वर्ष अघि छाउपडी मुक्त घोषणा गरेको थियो ।
गत वर्षमात्रै अछामकै तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै ज्यान गएको थियो । रासस