मूल्य वृद्धिको विरोधमा पोखराका हार्डवेयर व्यवसायी आन्दोलित
कम्पनीहरुले सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् ।
हिउँद याममा निर्माणको कामले तीव्रता पाउन थालेको बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेको भन्दै पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो ।
देशभरका कम्पनीले पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा रु १००, ओपीसी सिमेन्टमा रु १२० र फलामे छडमा प्रतिकिलोग्राम रु १३ सम्म मूल्य वृद्धि गरेका छन् ।
मूल्य वृद्धिको प्रत्यक्ष असर उपभोक्ता र व्यवसायमा परेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताएका छन् ।
कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको पोखरा हार्डवेयर एशोसिएसनले आरोप लगाएको छ ।
सम्बन्धित कम्पनीसँग पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको एशोसिएसनले जनाएको छ । रासस