मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ
न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ ।
घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।
उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ मा सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो ।
अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।
महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको थियो भने शुक्रबार र आज १ दशमलव ६ ।
आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा ७ दशमलव ७ डिग्रीसेल्सियस छ ।
रासस