ब्लगशनिवार, पौष २२, २०७४

बहुगुणी बेसार

हिमालखबर

हरेकको भान्सामा पाइने बेसार मानव स्वास्थ्यका लागि प्रकृतिको ‘वरदान’ हो।

- डा. अरुणा उप्रेती

३३ वर्षकै उमेरमा शोभा (नाम परिवर्तन) लाई स्तन क्यान्सर भएको खबरले परिवारलाई स्तब्ध बनायो । बेलायतको लण्डनमा बस्ने उनले तत्कालै अत्याधुनिक उपचार त पाइन् तर, विकिरणद्वारा उपचार गर्दा कपाल झ्र्‍यो, तौल स्वाट्टै घट्यो ।

डाक्टरहरूले शोभालाई विभिन्न खानेकुरालाई कसरी खाने भन्ने सिकाए । त्योमध्ये एक थियो, बेसार । “बेसार र मरिच मिसाएर खायो भने विकिरणको असर धेरै कम हुन्छ”— डाक्टरले भनेको कुरा शोभाले मलाई पनि सुनाइन् ।

शोभाको कुरा सुनेपछि मैले हजुरआमालाई सम्झें । जीउ र खुट्टामा खटिरा आउँदा हजुरआमाले घिउमा बेसार घोलेर लगाइदिनुहुन्थ्यो, खुट्टो मर्किंदा दूधमा मिसाएर र रुघाखोकीमा पानीमा पकाएर खान दिनुहुन्थ्यो । मेरी अशिक्षित हजुरआमालाई यो ज्ञान पक्कै पनि उहाँकी आमा, हजुरआमाले बताउनुभएको थियो, शायद ।

हालै मात्र साथी विमला गुरुङले अष्ट्रेलियाबाट ‘टर्मेरिक लाते’ प्याकेट उपहार ल्याइदिइन् । ६० ग्राम तौलको प्याकेटमा बेसार, दालचिनी, मरिच र सुकुमेल मिसाइएको रहेछ । नेपाली रु.१५०० जति पर्दोरहेछ । त्यो हिसाबले एक किलोको झ्ण्डै रु.२० हजार ।

पसलमा गएर सोधें, एक किलो बेसारको रु.४०० पर्दोरहेछ, अनि त्यत्ति नै मरिचको रु.७०० । एक–एक किलो मरिच र बेसार मिसाए पनि करीब रु.११०० भन्दा नपर्ने देखियो । तर, जब त्यही कुरा क्याप्सुल वा प्याकेटमा आउँछ, मूल्य पनि आकाशिंदो रहेछ !

गाउँघरमा सहजै पाइने बेसार र मरिचको धूलोलाई विकसित देशहरूमा किन यति महँगो ? चासो लाग्न थाल्यो । जानकारहरूसँग बुझेपछि पो थाहा भयो, बेसारमा ‘करकुमिन’ भन्ने यस्तो तत्व पाइँदोरहेछ, जसमा मानव कोषिका भित्रैसम्म पुगी संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । त्यसैले आयुर्वेद विज्ञानमा बेसारलाई ‘महाऔषधि’ भनिएको रहेछ । बेसारलाई मरिचसँग मिसाएर खाँदा करकुमिनको प्रभाव बढी हुने देखिएको छ । १०० ग्राम बेसारमा ५–८% तेल, ७.३% प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन–ए पनि पाइन्छ ।

यो सँगै करकुमिनमा एन्टिअक्सिडेन्ट अर्थात् उमेरसँगै हुने समस्या कम गराउने तत्व पनि पाइन्छ । केही अनुसन्धानले बेसारमा मस्तिष्क र मुटुका मांसपेशी सक्रिय पार्ने तत्व पनि रहने जनाएका छन् ।

प्रयोगशाला र जनावरका स्तन, छाला र ठूलो आन्द्राको क्यान्सरको उपचारमा करकुमिन उपयोगी भएको सिद्ध भइसके पनि मानवमा भने यसको प्रभावबारे थप अनुसन्धान थालिएको छ ।

त्यसो त बेसारको प्रयोगले बाथ भएका मानिसहरूको दुखाइमा पनि कमी आएको अनुसन्धानले बताएका छन् । तर, कतिपय वैज्ञानिकले रगत पातलो पार्ने एस्पिरिन, वारफारिन जस्ता औषधि आदिको प्रयोगमा करकुमिन कम खाने सल्लाह पनि दिन्छन् ।

बेसारमा क्याल्सियम पनि हुने भएकाले दैनिक पाँच ग्राम बेसार सेवनले हड्डी कमजोर हुने समस्याबाट पनि बच्न सकिने बताइन्छ ।

भान्सामै ओखती
बेसारको प्रयोग नेपाली र भारतीय भान्सामा छुट्दैन । तर, यूरोप र अमेरिकाको भान्सामा चाहिं यसको प्रयोग खासै गरिंदैन ।

बेसारलाई कसैले हलेदो त कसैले हल्दी भन्छन् । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ । हामीकहाँ धार्मिक/सांस्कृतिक क्रियाकलापमा पनि बेसारको प्रयोग हुन्छ । मधेशतिर विवाह संस्कारमा ‘हल्दी कि रसम्’ एउटा महत्वपूर्ण संस्कार नै मानिन्छ; जहाँ वर, वधुको अनुहारमा बेसार दलिन्छ ।

आयुर्वेदको भनाइअनुसार बेसारले रगत सफा गर्छ । यसले खानामा रुचि जगाउन पनि मद्दत गर्छ । तर, बेसारमा मरिच हाल्दा थप फाइदा गर्छ भन्ने थाहा पाएपछि दूध, बेसार र मरिच दिनहुँ प्रयोग गर्न थालेकी छु ।

दूध मन नपर्ने वा नपच्नेहरूले तातोपानीमा बेसार र मरिच हालेर पनि खान सक्छन् । छाला सफा गर्न बेसार र बेसनको लेप त पहिलेदेखि नै लगाउने चलन छ । बेसारमा‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन सामग्रीसँगै साबुनमा पनि यसको प्रयोग हुन थालेको छ ।

बेसारको बहुपयोग बेलैमा थाहा पाएर नै पश्चिमा देशहरूलाई क्याप्सुल, पाउडर बनाएर बेच्न शुरू गरिसकेका छन् । सोचौं, विदेशमा यही बेसार महँगोमा क्याप्सुलमार्फत किनेर खानुपर्छ । तर, हामीसँग घरघरमा बेसार छ, अर्थात् बहुमूल्य ओखती छ ।

प्रतिकृया दिनुहोस