दस्तावेजशनिवार, पौष २२, २०७४

अघि राजाको मुकाम पछि विद्याको केन्द्र

ज्ञानमणि नेपाल

भोजपुर जिल्लाको दिंग्ला आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सत्प्रयासबाट मन्दिर, धर्मशाला, पाठशाला, बगैंचाले सुसज्जित तीर्थस्थल, विद्याकेन्द्र बनेको हो ।

अरुण नदीको पश्चिमतर्फको पाटामा पर्ने यो रमणीय स्थलमा म सर्वप्रथम २०१६ साल मंसीरमा अनुसन्धानकै सिलसिलामा शतवीज छर्ने मेलामा पुगेको थिएँ ।

दिंग्ला पश्चिममा फैलिएको डाँडामा फालिकोट छ । सेन राजाका पालामा माझकिरात पूर्वको दिंग्लाकोट र फालिकोट दुवै राजवासका लागि योग्य रहेकाले बेलाबेला राजाको मुकाम यतै हुन्थ्यो ।

यी मुकाममा बसेर सेन राजा छाप, खर्क, बिर्ता दिन्थे । फालिकोट मुकाममा रहेको बेला शुभ सेनले पश्चिमको खार्पा बिर्ता गिरी, गोसाईंलाई दिएको विवरण हिमाल मा पहिल्यै प्रकाशित गरिसकेको छु ।

सं. १७५५ मा दिंग्लाकोट मुकाम गरेको बेला महीपति सेनले पनि खोटाङका नरोत्तम अधिकारीलाई यतैको घडेरी, सावा खोलाको खेत तथा बलभद्र अधिकारीलाई दिंग्लामा खेत, घडेरी, खर्क समेत गरी बिर्ता दिएका थिए ।

महीपति सेनले नै १७८५ मा नारायण कोइरालालाई तुलादान गर्दा भूमिदानको रूपमा सिक्तेल वितलप र पुराना गाउँ बिर्ता दिएका थिए । अहिलेसम्म हाम्रो बसाइ त्यहीं छ । यसको विवरण पनि हिमाल मा पहिल्यै दिइसकेको छु ।

त्यसको सात वर्षपछि सं. १७९२ मा जगत सेनले सेवा जोशीलाई दिंग्लामा बिर्ता दिए । ‘दलै थापा थरथोकको खाइन (जागीर) मुरी पचासको कटहरे, अर्चले, कैदले खेत थपी २०० मुरीको खेत र अधमारे खोलो, हरिवंश उपाध्यायको साँध कटहरे खोलापूर्व, कालीखोला पश्चिम, खकुवा खोलादेखि उत्तर, चप्लेटी पहरो, छत्रे ढुंगो, चुचे आँपदेखि तल यति चार किल्लाभित्रको ठूलो खण्ड कुभिंडे १०० मुरी खेत समेत र त्यसको आसपासको पाखो ... (नबुझ्एिको) विज जाने डिही बाहेक सबै लगापातभरीको जगा ‘आसिफरकोकुटिघा’ को नियमले विच्छिन्न गरिदिएर पञ्चखत समेत माफ गरी तिल, जौ, कुश लिई पानी समाती संकल्प गरी दान दिए, विहीवोटे घडेरी र त्यसले भेटेको आसपासको पाखो खुवारो खेत खर्क समेत बिर्ता वितलप ‘शिवप्रीति’ गरी दान दिएको छ । यहाँ तिमी आनन्दसँग बस, बस्ती बसाउ, जोतगोड् गराउ, त्यहाँको सबै उब्जा बाली लिई सुखभोग गर’ भनिएको छ ।

अघि प्रद्युम्न पोख्रेललाई बिर्ता दिंदाको बेहोरा जस्तो थियो प्रायः यस्तै बेहोरा यहाँ छ । ‘दश बिर्तावाल सरह हामीलाई आशीर्वाद दिइरहू’ पनि भनिएको छ । बिर्ता छापमा उल्लिखित रिस्कुमाडी मुकाम उदयपुरमा पर्छ ।

बिर्ता पाउने सेवा जोइसी भनेका शिवप्रसाद लम्साल हुन् । उनैका वंशज पं. दुर्गाप्रसाद लम्सालबाट मैले यो स्याहामोहर पाएको हुँ । उनका अनुसार ६–७ पुस्ता अघिका शिवप्रसाद जोशीले सेन राजप्रासादमा चतुर्मासाभरि रुद्राभिषेक कर्म गरेर लघुरुद्री पाठ गरेका र त्यसको साङ्गेमा राजाले यो बिर्ता दान दिएका हुन् । जग्गाको नापजाँच र किल्ला–कोइला गरी यो दानपत्रको स्याहामोहर अलिपछि बनेको हो ।

‘शिवप्रीति’ गरी यो जमीन दान दिएको भनिएको छ । दिनको एक लघुरुद्री गर्दा चतुर्मास (चार महीना) मा एक महारुद्री हुन्छ र दश–एघार जति लघु बढी हुन्छन् । बढी छुटपुटको परिपूर्ति वा अतिरुद्रीको साङ्गेको पूर्णताका लागि केही बढी पाठ गर्नु उचितै देखिन्छ ।

महारुद्री एकसय एघार भयो भने अतिरुद्री हुन्छ । त्यसबेला गाउँघरमा अहिले जस्तो सप्ताह, नवाह, चतुर्मासा आदि पुराण लाउने चलन थिएन ।

धनीमानी कसैले लाउन चाहे पुराण भन्ने पण्डित टाढाटाढा वा राजधानीबाट खोजेर ल्याउनुपर्थ्यो । पृथ्वीनारायण शाहले थिति–बन्देज बाँध्न नभ्याए तापनि अड्डैपिछे एक–एक जना पण्डित नियुक्त गर्नु भनेका थिए ।

त्यसो गर्दा अड्डा अदालतमा पुराण लागिरहन्थ्यो । मुद्दा मामिलाको निरुपण गर्दा पनि उनले अपराध अनुसार स्मृति शास्त्र हेरेर निर्णय दिन्थे ।

दरबार, गढी, गौंडामा चाहिं पुराण लागे पनि गाउँघरमा पढेका पण्डितको अभावै थियो । त्यसो हुँदा यस्तै रुद्री, वेद पाठ लाउने, सत्यनारायणको पूजा, तिथि श्राद्ध गर्ने काम यिनै बिर्तावाल ब्राह्मणहरू नै गर्दथे ।

त्यसबेला बिर्ता पाउने शिवालयका पुजारी, सन्न्यासी, वेदपाठी रुद्री पाठ गर्न सक्ने फलित ज्योतिष जानेका पञ्चाङ्ग गन्न, चिना बनाउन पनि सक्ने अवश्य हुन्थे । साधारण वैद्याङ्गी जानेका र झरफुक गर्न पनि यिनले जानेकै हुन्थे । गाउँघरमा यति विद्या चाहिं परम्परागत नै आएको थियो ।

यहाँ ‘आसिफरकोकुटिघा’ रूढ शब्द छ । यो किरात प्रदेशमा किपट छुट्याउँदा भएको रूढ प्रयोग हो । ‘असि’ को मूल अर्थ खड्ग, तरबार हो । हँसिया, खुर्पा, खुकुरीमा पनि प्रयोग हुँदै आयो ।

फर्को भनेको ठूलो बञ्चरो, फर्सा हो । खुर्पा, खुकुरी, बञ्चराले जतिसम्म जंगलको रूखमा घाउ लाउन सक्यो अथवा फाँडेको जति भूमिमा कुटो–कोदालाले खनीखोस्री गर्‍यो, त्यति क्षेत्रभरिको जमीन उसको किपट भयो ।

यो बिर्ता पनि राजाले मन फुकाएर दिएको हुँदा खेत, खर्क, घडेरी धेरै हुनाले ‘आसिफरकोकुटिघा’ नियम अनुसार जग्गा छुट्याइयो ।

१७९२ सालमा शिवप्रसाद लम्सालले यो बिर्ता पाएपछि मात्र लम्साल ब्राह्मणहरू यहाँ फैलिएका होइनन् । सत्रौं शताब्दीको ३० को दशकमा शुभ सेनले बलभद्र अधिकारीलाई त्यहाँ दिएको बिर्ताको साँधमा देव शर्मा लम्सालको नाम छ ।

उनै बलभद्रको बिर्ताको अर्को साँधमा गंगा लम्सालको साँध भन्ने लेखिएको छ । यसरी पहिले राजवास भएर जनतालाई छापखर्क जागिर दिने स्थल पछि आबाल ब्रह्मचारीको सत्प्रयासबाट धर्मस्थल, विद्याकेन्द्र बन्दै प्रसिद्धिमा आएको हो, दिंग्ला ।

सिरानमा जगत सेन नामाङ्कित स्याहामोहर छाप छ । त्यसपछि जनकपुरका लक्ष्मीनारायण र सप्तकोशी कोका सङ्गममा रहेका श्रीवाराहजीको नाम स्मरण गरिएको छ । फड्के किनारामा रुजु बस्ने देवासं राई छन् ।

जगत सेनले शिवप्रसाद जोशीलाई सं. १८९२ मा दिएको बिर्ता

छाप

श्रीलक्ष्मीनारायण श्रीवाराहजी

स्वस्ति श्री रूपनारायनत्यादिविविध विरूदावलि विराजमान मानोन्नत श्रीहिन्दुपति राजराजेश्वर श्रीमन्महाराजाधिराज श्रीश्रीश्री जगत्सेनदेवानां सदा समर विजयीनाम् आगे सेवा जोइसिके दलै थापा थरथोकका खाएन ढाला कटहरिआ अरचलिआ काधलिआ मुरा पचास थपिके दुइसै २०० मुरि खेत आसिफरकोकुटिघा अघमारि खोला हरिवंश पाध्याक साध कटहरिआ खोलामै पूर्व कालिखोलासै पछिम खकुआ खोला सै उत्तर चपलेहाटि पहरो छत्रेया ढुंगो चुचेया आवसै हेट इनचार किल्लाभित्र ठूलोखंड कुभिंड्या मुरि सौ १०० तस्को पाखा वीव ( ?) जाना हिडि वाहीक लगापात थला विछिन्न पंच खत समेत सर्वांक सर्वरकम सजल सकुस सतिल वीहीवोट्या घडचारी पाखो लगा स्ववारा खेत खरणक लप्सीबोट्या खमरिआ आगे पाछासमेत विरता वेतलप श्रीसिव पृति करिके दिहल है वसथु नसावथु जोतथु जोतावथु उत्तन होए सो सुख भोग्य करथु दश वितलपीयाक सरह आसिर्वात देल करथु इति संवत १७९२ माघ वदि ७ रोज ४ मोकाम रीस्कुमाडी शुभम्

रूजु देवासं राई

प्रतिकृया दिनुहोस