देशभर कार्यक्रम गरेर भूकम्प सुरक्षा दिवस मनाउने तयारी
गृह मन्त्रालयले २०औं भूकम्प सुरक्षा दिवसमा देशभर जनचेतनामुलक कार्यक्रम गरेर मनाउने तयारी गरेको छ ।
यो वर्ष भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ तय गरिएको छ ।
२० पुसमा गृह मन्त्रालयमा बसेको २०औं भूकम्प सुरक्षा दिवस राष्ट्रिय समितिको बैठकले नारा र मूल समारोह काठमाडौंमा गर्ने कार्यक्रम तय गरेको हो ।
गृह सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा बसेको बैठकले २ माघमा काठमाडौंको वसन्तपुरमा मूल समारोहको कार्यक्रम गर्ने तय गरेको हो ।
मुल समारोह काठमाडौंमा गरेपनि जनचेतनामुलक कार्यक्रम भने देशभरी गरिने गृह मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरुले सम्बोधन गर्नेछन् ।
२ माघ १९९० मा गएको भूकम्पको सम्झना गर्दै २०५५ सालदेखि नेपालमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।