रिपोर्टशुक्रवार, पौष २१, २०७४

सदाबहार बजार

मस्त केसी

मध्यमवर्गको वृद्धि, आधुनिक जीवनशैली, विश्वव्यापीकरणको प्रभावसँगै उदार अर्थनीतिका कारण नेपाली समाज मदिराको सदाबहार बजार बनेको छ।

अफ्रिकाको एड्स नेपालीको रक्सी’ (१६ असोज–१५ कात्तिक २०५९) शीर्षकमा हिमाल मा छापिएको आफ्नो स्तम्भमा दार्जीलिङका प्राध्यापक महेन्द्र पी लामाले मदिराले नेपालीको ज्यान लिइरहेको संकेत गर्न खोजेका थिए । अब त्यस्तो डरलाग्दो रहेन ।

१५ वर्षयता अफ्रिकामा एचआईभी/एड्सको संक्रमणमा निकै कमी आइसकेको छ । संक्रमितको जीवन लम्ब्याउने नयाँ–नयाँ औषधि बनेका छन् । यता नेपालमा मदिराको प्रयोग बढेको मात्र छैन, एकातिर हिजोसम्म मदिरा वर्जित जाति र समुदाय समेत यसको नशामा रम्न थालेको छ भने अर्काेतर्फ स्वदेशमै गुणस्तरीय मदिराको उत्पादन पनि बढ्न थालेको छ । 

केही समुदायमा संस्कृतिको अंगकै रूपमा प्रयोग हुने घरेलु मदिरा अहिले आम बन्दैछ । चाडपर्व, सभा–समारोह मात्र होइन, खुशी ‘सेलिब्रेट’ गर्न नभई नहुने पेयका रूपमा मदिरा प्रयोग हुन थालेको छ । कतिसम्म भने मदिरा सेवन नगरी ‘सोसल’ नै नहुने तर्क पनि गर्न थालिएको छ ।

स्वाभाविक हो, पिउने बढेसँगै उत्पादन पनि उकालो लागिरहेको छ । अहिले नेपालमा साना ठूला गरी झण्डै ८० वटा मदिरा उद्योग सञ्चालनमा छन् । १५० बढी उद्योगले उत्पादन अनुमति लिएका छन् । घरघरमा कति मदिरा बनाइन्छ, यसको त लेखाजोखा नै छैन । यतिले नपुगेर मदिराको आयात पनि उत्तिकै बढिरहेको छ । आर्थिक वर्ष २०६९/७० मा रु.१ अर्ब ७६ करोडको मदिरा आयात भएकोमा आव २०७३/७४ मा यो रकम रु.३ अर्ब १३ करोड पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, नेपालमा भारतबाहेक अमेरिका, अष्ट्रेलिया, बेलायत, क्युबा, मेक्सिको, फ्रान्स, बेल्जियम, पोल्यान्डलगायत ५० मुलुकबाट मदिरा आयात भइरहेको छ । मदिराको कच्चा पदार्थ भारत र बेलायतबाट बढी आउँछ ।

व्यवसायीहरू मदिराको वार्षिक बजार करीब १५ प्रतिशतले बढिरहेको बताउँछन् । योसँगै विश्वकै नामी ब्रान्ड, विशेषता र स्वादका मदिरा नेपाली बजारमा पाइन्छन् । मौसम र समयअनुसार विभिन्न मदिराको प्रयोग गर्नेहरू बढेका छन् ।

चाहिएन बहाना
भोजभतेर, पिकनिक, आफन्त वा साथीभाइसँगको भेटघाट, खुशी साट्न, सगुनका रूपमा, व्यवहार मिलाउन, थकान मेट्न । मदिरा सेवनका यी यस्ता विभिन्न बहाना हुन्थे । तर, अब मदिराका लागि बहाना खोजी गर्ने समय सकिएको सांग्रिला स्पिरिट्सका निर्देशक प्रताप रावल बताउँछन् । “सामान्य भेटघाट वा पारिवारिक जमघटमा समेत मदिरा प्रवेश गरेको छ”, उनी भन्छन् ।

मदिराले नयाँ ग्राहक भेटेसँगै सस्तो र मध्यम खालका मदिराको व्यापार फैलँदो छ । धनाढ्यले मदिरालाई ‘स्टेट्स अपग्रेड’ साधनका रूपमा मान्दा महँगा आयातीत रेड लेवल, ब्ल्याक लेवल, ग्रीन लेवल, भ्याट सिक्स्टिनाइन, हन्ड्रेड पाइपर्स लगायतका ह्विस्की र ब्रान्डीको बजार पनि बढेको छ ।

आयातकर्ता ग्लोबल ट्रेडिङका निर्देशक आदित्य अग्रवाल सस्तो मदिराका तुलनामा शरीरमा कम असर गर्ने कारण मात्रै नभई ‘सुपेरियर’ देखिन समेत महँगा ह्विस्की पिउनेको जमात बढेको बताउँछन् । “महँगा ह्विस्की घरमा सजाएर राख्ने र आवश्यकताअनुसार प्रयोग गर्ने प्रशस्त छन्” उनी भन्छन्, “मदिरा ‘स्टेट्स सिम्बोल’ झैं बनेका छन् ।”

नेपाली मदिरा
नेपालमा मदिरा उद्योगमा करीब रु.५० अर्ब लगानी भइसकेको छ । यसको वार्षिक बजार रु.९० अर्बको हाराहारीमा छ । कुल राजश्वमा १७ प्रतिशत हिस्सा मदिरा व्यवसायको छ । तर, सरकारले मदिरा उद्योगलाई बेवास्ता गरिरहेको व्यवसायीको गुनासो छ । 

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका कानून अधिकृत गुरुप्रसाद अधिकारी मदिरा उद्योग र व्यापारमा सरकारको अस्पष्ट र विभेदकारी कानूनका कारण व्यवसायी मारमा परेको बताउँछन् । “यसबाट घरेलु र गुणस्तरहीन मदिरा उत्पादनमा सहयोग र आयातलाई प्रोत्साहित गरिरहेको छ” उनी भन्छन्, “सरकार कर बढाउने ध्याउन्नमा मात्र देखिन्छ ।”

रोजगारी, अध्ययन वा विदेश पुगेका नेपालीले ल्याउने ‘ड्यूटी फ्रि’ मदिराले पनि व्यवसायीलाई असर पारेको छ । यसबाट सरकारले ठूलो राजश्व गुमाइरहेको छ । उद्योग विभाग, आन्तरिक राजस्व विभाग, गृह मन्त्रालय लगायतका सरकारी निकाय मदिरासँग जोडिएका छन् । तर, नियमन र अनुगमन भने फितलो छ । सुमी डिष्टिलरीका जनरल म्यानेजर सुमन केसी यी निकायबाट मापदण्ड र गुणस्तर प्रमाणित नहुँदा उद्योगी मारमा परेको बताउँछन् ।

घरेलु उद्योगले भोगिरहेको अर्को समस्याचाहिं टे«डमार्क र ब्रान्ड चोरीको हो । बजारमा उस्तै प्रकृतिका नक्कली ब्रान्ड छ्याप्छ्याप्ती छन् । नक्कली ब्रान्डबारे पटकपटक उजुरी गर्दा पनि सुनुवाई नभएको व्यवसायीको गुनासो छ । “चोरीका ब्रान्ड खुलेआम बिक्री र राजस्व छली हुँदासमेत नियामक निकायलाई वास्ता छैन, यसले हामी सक्कलीको बजार खोसिएको छ”, जावलाखेल ग्रुपका कानून अधिकृत अधिकारी भन्छन् ।

सुमी डिष्टिलरीका केसी गुणस्तरहीन उत्पादन रोकेर व्यवसायलाई व्यवस्थित बनाउने हो भने अहिलेको राजश्व दोब्बर हुने बताउँछन् । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने उनको सुझव छ ।

ब्रान्ड चेतना
तुलनात्मक रूपमा स्तरीय र महँगो मदिराका लागि विदेशी बजार नै ताक्नुपर्ने अवस्थामा केही हदसम्म कमी आउन थालेको छ । स्वदेशमै उत्पादित ओल्ड दरबार, ब्ल्याक चिम्नी, रुस्लान भोड्का, ८८८४, रकफोर्ड, एन्टीक्विटी, खुकुरी रम लगायतले विदेशी ब्रान्डका ह्विस्कीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

आयातकर्ता अलाइड ब्लिन्डर्स एण्ड डिष्टिलर्सका कन्ट्री म्यानेजर सत्यप्रकाश नेपालीमा ब्रान्ड चेतना बढिरहेको बताउँछन् । “आयातीत होस् वा घरेलु उत्पादन दुवैमा ब्रान्ड चेतना बढेको छ” उनी भन्छन्, “स्वास्थ्य र ‘सोसल स्टेटस्’ का कारण पनि चेतना बढेको हुनसक्छ ।”

पहिले उच्च वर्गका मानिने रेड लेवल, भ्याट–सिक्स्टीनाइन, ब्ल्याक लेवल, सिवास रिगल लगायतका मदिरा अहिले मध्यम वर्गले समेत प्रयोग गर्न थालेका छन् । अन्य थुप्रै प्रिमियम ब्रान्ड भित्रिरहेका मात्र छैनन्, उत्पादन पनि भइरहेका छन् ।

यतिबेला नेपाली बजारमा प्रतिबोटल ६० रुपैयाँदेखि साढे पाँच लाखसम्मका मदिरा पाइन्छन् । ग्लोबल ट्रेडिङका अग्रवाल एक लाख रुपैयाँभन्दा माथिका मात्र दर्जन ब्रान्ड रहेको व्यवसायीहरू बताउँछन् ।

वाइनः सबैको पेय
बियर र कडा खाले मदिरा नरुचाउनेको रोजाइमा पर्ने वाइन विस्तारै ‘सोसल ड्रिङ्क’ को रूपमा परिचित हुँदैछ । श्री महाकाली वाइन प्रालिका प्रबन्ध निर्देशक सन्तोष खड्का सबै वर्ग, उमेर र समूहका लागि उपयुक्त भएकै कारण वाइनले सामाजिक स्वीकार्यता पाइरहेको दाबी गर्छन् ।

स्वदेशी वाइन उत्पादनसँगै वाइनको बजार पनि बढेको छ । उच्च वर्गमा सीमित वाइन मध्यम र निम्नमध्यम वर्गमा आइपुगेको छ । नेपाली बजार सुहाउँदो उत्पादन र मूल्यका कारण वाइन संस्कृतिकै अंग बनिरहेको मकालु वाइन इन्डष्ट्रिजका निर्देशक आश्रय रञ्जितकार बताउँछन् ।

१५ प्रतिशतसम्म अल्कोहलको मात्रा हुने भएकाले कतिपय विकसित मुलुकमा वाइनलाई ‘मदिराजन्य पेय’ का रूपमा लिइँदैन । तर, नेपालमा भने मदिराकै कोटिमा राखिएको छ । “अन्तःशुल्क र राजश्व पनि अन्य मदिरासरह नै तिर्नुपरेको छ, जुन गलत छ”, मकालु वाइनका रञ्जितकार भन्छन् ।
स्वदेशी वाइनको लोकप्रियतासँगै उद्योग पनि थपिंदा छन् । अहिले २५ वटा जति वाइन उद्योग सञ्चालनमा छन् । स्वदेशी उद्योगीलाई आयातीत वाइनका अतिरिक्त अस्वस्थ आन्तरिक प्रतिस्पर्धाले पनि समस्या बढाएको व्यवसायीहरू बताउँछन् ।

मर्यादापूर्वक मदिरा
कतिपयले पिउनु भनेकै स्वनियन्त्रण गुमाउनु अर्थात् मात्नु हो भनी बुझछन्, जुन गलत हो । आफू, परिवार र समाज सबैप्रति उत्तरदायी नभए मदिराले बढी नै हानि पुर्‍याउँछ । हुन पनि, अनियन्त्रित मदिरा पिएर शारीरिक र सामाजिक रूपमा बर्बाद भएका घटना प्रशस्त भेटिन्छन् ।

सदियौंदेखि कतिपय समुदायमा कुलपूजा र भोजभतेरमा मदिरा अनिवार्य छ । तर, त्यो भनेको मदिराको मर्यादापूर्ण उपयोग हो । शारडा ग्रुपका बिक्री तथा बजार प्रबन्धक रमेश घिमिरे मदिराको मर्यादापूर्ण सेवनले धेरै हानि नगर्ने दाबी गर्छन् । “यस्तो मर्यादा उत्पादनदेखि बिक्री र उपभोगसम्मै पालना गरिनुपर्छ”, उनी भन्छन् ।

सरकारले मदिरा उत्पादनमा करको भार बढाउनु भनेको उपभोग कम गराउने रणनीति पनि हो । नागरिकलाई मदिराको लतबाट टाढै राख्न सरकारले विभिन्न अभियान पनि सञ्चालन गर्छ । न्यून आय भएका मानिसले कम गुणस्तरको मदिरा सेवन गर्दा व्यक्तिको स्वास्थ्य र परिवार सञ्चालनमै समस्या निम्तिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, मदिरा सेवनबाट विश्वमा वर्षेनि ३३ लाखको मृत्यु हुने गरेको छ । यो मृत्यु समग्र मृत्युको ५.९ प्रतिशत हो । सांग्रिला स्पिरिटका निर्देशक प्रताप रावल व्यवसायीहरू मदिराको प्रयोग र व्यापार मर्यादित होस् भन्ने पक्षमा रहेको बताउँछन् । “सरकारले मदिरा बिक्रीको पसल, समय र ग्राहकको उमेर तोकोस्, हाम्रो पूरै समर्थन रहन्छ”, उनी भन्छन् ।


‘मापदण्ड बनाउनु र अनुगमन गर्नुपर्‍यो’
रमाइलो के छ भने, मदिरा सेवनले स्वास्थ्यलाई हानि गर्छ भन्ने जान्दाजान्दै पनि यसको प्रयोग बढ्दो छ, उत्पादन मौलाउँदो छ । मदिरा व्यवसाय सुरक्षित लगानी क्षेत्रका रूपमा चिनिएको छ । तर, यति हुँदाहुँदै पनि बजारमा बग्रेल्ती समस्या छन् ।

सरकार मदिरा व्यवसायमा वर्षेनि कर बढाउँछ तर उत्पादनलाई गुणस्तरीय बनाउन आवश्यक नियमन, अनुगमन भने गर्दैन । यसले एकातिर स्तरहीन मदिराका कारण सर्वसाधारणको ज्यान त गइरहेको छ नै राजस्व पनि गुमेको छ ।

बढ्दो मदिरा बजार, फेरिंदो नेपाली स्वाद गुणस्तर र बेथितिबारे मदिरा उद्योगी/व्यवसायीसँग हिमालले गरेको ‘राउण्ड टेबल’ कुराकानीको सारः

व्यवसायका विभिन्न क्षेत्र छँदाछँदै मदिरामै किन लाग्नुभयो ?

 

'संसारभर मदिरा व्यवसाय बढिरहेको छ । स्वाभाविक रूपमा यसको प्रभाव नेपालमा पनि परेको छ । यहाँको संस्कृतिमै मदिरा छ । भगवानलाई नै मदिरा चढाइन्छ । त्यति हुँदाहुँदै पनि यहाँ घरेलु उत्पादनका मदिराको खपत निकै छ । दीर्घकालीन र सम्भावनायुक्त बजार भएकै कारण मदिरा व्यवसाय लगानीको प्राथमिकतामा परेको हो ।'

प्रताप रावल
निर्देशक, सांग्रिला स्पिरिट्स

 

नेपालीमा खर्च गर्ने क्षमता र बानी दुवैको वृद्धि भइरहेको छ । पश्चिमी प्रभाव पनि बढेको छ । त्यसैले पनि मदिरा व्यापार वर्षेनि बढ्दो छ । उद्योगी, व्यवसायीहरू व्यवस्थित भए यो झन् उकालो लाग्छ ।

रमेश घिमिरे
बिक्री तथा बजार प्रबन्धक, शारडा ग्रुप

 

नेपाली बजारमा घरेलु, विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरिएका र विदेशबाटै आयात गरिएका मदिराहरू छन् । सबैको व्यापार फस्टाउँदो छ । यो विश्व अर्थतन्त्रको प्रभाव पनि हो । अब राजनीतिक स्थिरताको आशा बढेको छ । यसले पनि बजार विस्तार गर्छ । उच्चस्तरीय प्रविधिको प्रयोगमार्फत विश्वस्तरका मदिरा नेपालका मदिरा पारखीलाई चखाउने हाम्रो उद्देश्य हो ।

सत्यप्रकाश
कन्ट्री म्यानेजर, अलाइड ब्लिन्डर्स एण्ड डिष्टिलर्स

 

झण्डै दुई दशकदेखि हामी यो क्षेत्रमा छौं । बजार बढ्दो छ, सम्भावना देख्यौं । त्यसैले लगानी पनि बढाइरहेका छौं । बजार राम्रो भएकैले नयाँ ब्रान्ड भित्रिरहेका छन् । मुख्य कुरा यो क्षेत्रमा लगानी सुरक्षाको सुनिश्चितता छ । व्यवसायीले हेर्ने भनेकै सामाजिक उत्तरदायित्वसँगै लगानीको सुनिश्चितता त हो नि !


आदित्य अग्रवाल
निर्देशक, ग्लोबल ट्रेडिङ

 

जावलाखेल ग्रुपले मदिरा व्यवसाय पारिवारिक विरासतको रूपमा पाएको हो । अहिले छैटौं पुस्ताले व्यापार हाँकिरहेको छ । सम्भावना भएर उद्योग बढाइरहेका छौं । नेपालमा पर्यटन क्षेत्रको विकास भइरहेको छ । पर्यटनको विकाससँगै मदिरा व्यवसाय स्वाभाविक रूपले बढ्छ ।

गुरुप्रसाद अधिकारी
प्रमुख कानून अधिकृत, जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज

 

नेपालमा मदिराको निश्चित मापदण्ड बन्न सकेको छैन । उपभोक्ताले मूल्यअनुसारको उत्पादन पाइरहेका छैनन् । एकै स्तरका मदिराको पनि मूल्य फरक छ । यसको अन्त्य गर्दै स्तरीय मदिरा सस्तोमा उपलब्ध गराउने हाम्रो चाहना हो । त्यसैले हामी यो क्षेत्रमा छौं ।

सुमन केसी
जनरल म्यानेजर, सुमी डिष्टिलरी

सामान्य उपभोत्ताले मदिराको स्तर कसरी चिन्ने ?
प्रताप रावलः
मुख्य कुरा मानसिकता हो । तर, प्रयोगशालाका हिसाबले मदिरा चिन्ने विभिन्न सूचकांक छन् । सर्वसाधारणले चिन्ने सरल उपाय चाहिं मदिराले शरीरमा पार्ने असरको आधारमा हो ।

रमेश घिमिरेः राति पिएपछि बिहान कति असर गर्छ त्यो पनि एउटा तरिका भने हो । रुचिअनुसार समय लगाएर मदिरा सेवन गर्दा खासै असर गर्दैन । जबरजस्ती खाँदा त जस्तो ब्रान्डले पनि असर गर्छ । हतारमा मदिरा सेवन गर्नुहुँदैन ।

गुरुप्रसाद अधिकारीः मुख्य कुरा आवश्यकता हो । आवश्यकताभन्दा धेरै प्रयोग गरे जुन चिजले पनि असर गर्छ मदिराको बढी सेवनले असर नगर्ने कुरै भएन । तर, निश्चित मात्रा मिलाएर सेवन गर्दा मदिराले खासै असर गर्दैन । चलेका ब्रान्ड र कम्पनीले उत्पादन गरेका मदिरा स्तरीय नै हुन्छन् ।

सत्यप्रकाशः गुणस्तरीय मदिरा नै ब्रान्डेड हुने हुन् । त्यसैले स्वदेशी होस् वा विदेशी, सकभर ब्रान्डेड मदिरा नै प्रयोग गर्नु उचित हुन्छ । सबै मदिरा सबैको रोजाइमा नपर्न पनि सक्छन् । ‘सोसल’ हुने नाममा जस्तोसुकै ब्रान्ड प्रयोग गर्नुहुँदैन ।

आदित्य अग्रवालः सबै महँगा मदिरा स्तरीय छन् भन्ने होइन । सस्तो मदिरा खानै नमिल्ने भन्ने पनि होइन । तर, गुणस्तरले मदिरा स्वतः महँगो पर्छ । महँगोको तुलनामा सस्तो मदिराले शरीरमा बढी असर गर्छ । आफूलाई मनपर्ने स्वाद र ब्रान्ड ख्याल गर्नुपर्छ ।

सुमन केसीः विस्तारै नशा लाग्ने, टाउको नदुखाउने, गन्ध कम आउने, पिएपछि तिर्खा कम लाग्ने मदिरा तुलनात्मक रूपमा राम्रो मानिन्छ ।

मदिरा व्यवसायका के कस्ता समस्या छन् ?
सुमन केसीः
 लाइसेन्स वितरणमा मापदण्ड छैन । सरकारले राजश्व असुलीबाहेक केही गर्दैन । स्थिर सरकार, स्थिर नीति र निश्चित मापदण्ड नहुनु प्रमुख समस्या हुन् । सरकारसँगै परिवर्तन हुने नीतिनियमले पनि समस्यामा पारेको छ ।

गुरुप्रसाद अधिकारीः मदिरा व्यवसायीलाई सरकार र आम मानिसले हेर्ने दृष्टिकोणमै समस्या छ । व्यवसाय पनि व्यवस्थित र मर्यादित छैन । व्यवसायीबीच नै अस्वस्थ प्रतिस्पर्धा छ । ब्रान्डको नक्कल र ट्रेडमार्कको चोरी ठूला समस्या हुन् । सरकारले अनुगमन नै गर्दैन भन्दा फरक नपर्ला ।

रमेश घिमिरेः गैरकानूनी रूपमा थुप्रै उद्योग चलिरहेका छन् । यसले राज्यलाई घाटा पुर्‍याएको छ नै मापदण्डभित्र चलेका व्यवसायीलाई समेत मर्कामा पारेको छ ।

आदित्य अग्रवालः ‘ड्यूटी फ्रि’ मा आउने मदिराले हामीजस्ता व्यवसायीलाई समस्यामा पारेको छ । ‘ड्यूटी–फ्रि’ मा के कति मदिरा ल्याउने पाइने भन्ने मापदण्ड बन्नुपर्छ । अर्को कुरा, गुणस्तर एउटै भए पनि नेपाली र विदेशी ब्रान्डको मूल्य फरक छ । यसलाई समान बनाउनुपर्छ ।

प्रताप रावलः घरेलु मदिराले ठूलो बजार ओगट्नु हाम्रो लागि चुनौती हो । घरघरमा उत्पादन भएका मदिरालाई करको दायरामा ल्याउने नीतिको अभाव छ । यसले ठूला उद्योगी र व्यवसायीलाई समस्यामा पारेको छ ।

सत्यप्रकाशः हामी प्रविधिमा पछाडि छौं । लगानी र उद्योगमैत्री नीति नै छैन । आयात–निर्यातको ऐननियम पनि स्पष्ट छैन ।

मदिरा व्यवसायको भविष्य कस्तो छ ?
प्रताप रावलः
 उद्योगीहरूले लगानी र मानव संसाधन विस्तार गर्नुपर्छ । बिक्री, अनुगमन र नियमनको मापदण्ड बनाएर कडाइका साथ लागू गर्नुपर्छ । माइक्रो डिष्टिलरीको सोच बनाएर घरेलु मदिरालाई पनि करको दायरामा ल्याउँदा व्यवसाय थप सुदृढ हुन्छ ।

रमेश घिमिरेः करको दायरा बाहिर रहेका कम्पनीलाई समेट्नुपर्छ । मदिरालाई घृणाको रूपमा हेर्ने मानसिकता बदल्नुपर्छ । विदेशी ब्रान्डको लागि निश्चित मापदण्ड पूरा गरेका आधिकारिक बिक्रेता तोकिनुपर्छ । अन्यत्रबाट ती ब्रान्ड ल्याइन रोक लगाइनुपर्छ ।

सत्यप्रकाशः विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने मापदण्ड र गुणस्तरका मदिरा उत्पादन गर्नुपर्‍यो । त्यसका लागि गुणस्तरमापन र ‘सर्टिफाइड’ गर्ने निकायको आवश्यकता छ । ट्रेडमार्क नीति बलियो बनाउनुपर्छ । स्थिर सरकार र नीतिको खाँचो छ । लगानी र औद्योगिक वातावरण निर्माण गरिनुपर्छ ।

गुरुप्रसाद अधिकारीः छुट्टै अन्तःशुल्क विभागको आवश्यकता छ । निश्चित मापदण्ड पुर्‍याएका पसलबाट निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण गर्नुपर्छ । विदेशमै नेपाली ब्रान्ड र कम्पनी स्थापनाको वातावरण बनाउनुपर्छ । अवैध र नक्कल गरिएका मदिरा नियन्त्रण गर्नुपर्छ । यसो गर्न सके मदिरा उद्योगको भविष्य सुनौलो छ ।

सुमन केसीः उत्पादन, प्रशोधन, वितरणलगायतमा मापदण्डको खाँचो छ । गुणस्तर अनुसारको स्टिकर टाँस्नुपर्छ । निश्चित मापदण्ड र न्यूनतम पूर्वाधार भएका उद्योगलाई मात्रै उत्पादन अनुमति दिनुपर्छ । भविष्य राम्रो छ ।

 

उपभोक्ता ठग्न अन्त्य गर्नुपर्छ । मूल्य तिरेअनुसारको वस्तु उपभोक्ताले उपभोग गर्न पाउनुपर्छ । नक्कली उत्पादन गर्नेको धन्दा बन्द गर्नुपर्छ । जसलाई पनि उद्योगको अनुमति दिनुहुन्न । उद्योगी स्वयंका पनि कमजोरीहरू छन् । त्यसलाई सुधार्दै जानुपर्छ । स्थिर सरकार र नीतिको आवश्यकता त छँदैछ ।

नोर्बु घले
बजार निर्देशक, सुमी डिष्टिलरी

प्रतिकृया दिनुहोस